विराटनगर । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७ वटै पालिका जितेर धनकुटामा इतिहास रचेको एमाले यस पटक भने बहुमत पालिकामा पराजित भएको छ ।
धनकुटामा कांग्रेसले बहुमत पालिका अर्थात् ४ वटा पालिकाको नेतृत्व जितेको छ भने एमालेले भने ३ पालिकामा जितेको छ ।
काँग्रेसले ४ पालिकाको प्रमुख जित्दा उपप्रमुख भने जितेन । एमालेले ३ पालिका प्रमुख र ६ उपप्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्रले एउटा पालिकाको उपप्रमुख जितेको छ ।
कांग्रेसले साँगुरीगढी गाउँपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको नेतृत्व जितेको छ । एमालेले धनकुटा नगरपालिका, चौबिसे गाउँपालिका र सहिदभूमि गाउँपालिका जितेको छ । माओवादी केन्द्रले छथर जोरपाटीको उपप्रमुख जित्दा बाँकी सबै उपप्रमुख एमालेले जितेको छ ।
गठबन्धन असफल, कांग्रेस सफल
धनकुटामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले गठबन्धन गरेका थिए । गठबन्धन अनुसार माओवादीले १ पालिकाको मात्र उपाध्यक्ष जितेको छ । चौबिसे गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीले अध्यक्षमा उम्मेद्वारी दिएको थियो । तर, उक्त पालिकामा एमालेले जितेको छ । चौबिसेमा उपाध्यक्षमा उम्मेद्वारी दिएको गठबन्धन दल जनता समाजवादी पार्टीका उम्मेद्वार पनि पराजित भएका छ ।
छथर जोरपाटी गाउँपालिकामा भने गठबन्धनकै उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीले गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका थिए । धनकुटा नगरपालिकामा भने गठबन्धन सफल हुन सकेन । त्यहाँ गठबन्धनलाई एमालेले प्रमुख तथा उपप्रमुख दुवै पदमा पराजित गरेको छ ।
पाख्रीबास नगरपालिकामा प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार विजयी हुँदा गठबन्धनकै माओवादी केन्द्रको उपप्रमुखको उम्मेद्वार भने पराजित भएका छन् । महालक्ष्मी नगरपालिकामा पनि प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार विजयी हुँदा गठबन्धनकै माओवादी केन्द्रको उपप्रमुखको उम्मेद्वार भने पराजित भए ।
साँगुरीगढी गाउँपालिकामा पनि कांग्रेसका उम्मेद्वार अध्यक्षमा विजयी हुँदा गठबन्धन दल जसपाका उपाध्यक्षका उम्मेद्वार भने पराजित भएका छन् । सहिदभूमि गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र काँग्रेसका उपप्रमुख दुबै पराजित भए ।