इलाम । इलामको माईजोगमाई गाउँपालिका–१ को वडाध्यक्षमा गोला प्रथाबाट नेकपा एमालेका यामकुमार कार्की बिजयी भएका छन् ।
वैशाख ३० गते भएको मतदाननमा एमालेका कार्की र नेपाली कांग्रेसका टेकबहादुर शाहले बराबरी १ हजार ८४ मत ल्याएका थिए ।
मतगणना ३१ गते नै सकिएपनि सोमबार मात्र गोला गरिएको थियो । बराबरी मत ल्याएपछि दुबैजना मतगणना स्थलबाट बाहिरिएका थिए । जेठ १ गते दुबैजना आएपनि कार्कीले भने गोला गर्न मानेका थिएनन् ।
माई जोगमाईका निर्वाचन अधिकृत प्रेम काफ्लेका अनुसार गोला प्रथामा कार्कीलाई नै सफलता मिलेको छ । गाउँपालिकाको नेतृत्वको लागि एमाले र एकीकृत समाजवादीबीच प्रतिष्पर्धा भएको छ । एमालेका कुशबहादुर थेवे र नेकपा एसका जितबहादुर राई चुनावी मैदानमा छन् ।