प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको वडामै कांग्रेस विजयी, नगरमा एउटा वडा जित्न सफल

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्र राईको वडामा नेपाली कांग्रेसले जितेको छ ।

भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्कीले जितेका हुन् । कार्कीले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३७७ मत ल्याएका छन् ।

उक्त वडामा नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका ज्ञानेन्द्र प्रसाद दाहालले २ सय १० मत प्राप्त गरेका छन् । षडानन्द नगरपालिकाको १, ५, ७, १०, १२ र १४ नम्बर वडा एमालेले जितेको छ । यस्तै वडा नम्बर २, ४, ६, ८, ११ र १३ मा कांग्रेस विजयी भएको छ । नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले ३ नम्बर वडामा जितेको छ ।

यस्तै षडानन्द नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेको भएपनि एमालेका उम्मेद्वार सुरेन्द्र उदास प्रमुखमा निर्वाचित भएका छन् । उनले ६ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका वीरबल राईले ५ हजार ७ सय ५७ मत ल्याएका थिए । उपप्रमुखमा भने गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी नेकपा (माओवादी केन्द्र)की प्रमिला राई ७ हजार २ सय ५७ मतसहित विजयी बनेकी छिन् । उनले एमालेकी उम्मेद्वार मेरिकालाईलाई पराजित गरेकी हुन् । मेरिका राईले ४ हजार ३ सय ५८ मत ल्याएकी हुन् ।

जेष्ठ ३, २०७९, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर