विराटनगर । मोरङको रंगेली नगरपालिकामा १८ घण्टासम्म मतगणना सुचारु हुन नसकेपछि गृहमन्त्री बालकृष्ण खाँड चासो दिएका छन् ।
स्थानीय प्रशासनलाई गृहमतन्त्री खाँडले सहमति गराएर मतगणना सुचारु गर्नसमेत निर्देशन दिएका छन् ।
रंगेलीमा शनिबार राति ११ बजेदेखि मत गन्ने काम रोकिएको हो । मतगणनामा हुलहुज्जत भएको र मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै नेपाली काँग्रेसलगायतका दलहरुले आपत्ती जनाएपछि गणना स्थगित भएको हो ।
राति कांग्रेस सहितका राजनीतिक दलका कार्यकर्ताले मतगणनास्थल रंगेलीको जनता क्याम्पस परिसरमा प्रदर्शन गरेका थिए । वडा नम्बर ८ को मतपेटिका फोडिएको अवस्थामा फेला परेको र स्वतन्त्र उमेदवारको नाममा एमालेले धेरै प्रतिनिधि राखेको भन्दै एमालेबाहेकका दलहरुले गणना स्वीकार गर्न नसकिने जनाएको छन् ।
नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार मोदराज घिमिरेले मतपेटिका फोरिएको अवस्थामा भेटिएकोले स्वीकार गर्न नसक्ने बताए । सर्वदलीय छलफल गरेर गणना अघि बढाउन निर्वाचन आयोगले लिखित पत्राचार गरेको भएपनि गणना अगाडि बढ्न सकेको छैन ।
नेकपा एमालेबाट मेयर पदका उमेदवार दिलिप बडडियाले मतगणना रोक्नुको कुनै अर्थ नभएको बताएका छन् । बगडियाले रंगेली नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतपेटिका खोलेर गणना भईरहेको अवस्थामा गठबन्धनको पकड बलियो भएको क्षेत्रमै कमजोर परिणाम देखिएपछि मतगणना रोक्ने षड्यन्त्र भएको दाबी गरे ।
विवादको क्रममा स्थानीय पत्रकार रविन्द्र बरालमाथि हातपातसमेत भएको थियो । घटनाको नेपाल पत्रकार महासंघ मोरङले विज्ञप्ति प्रकाशित गरी निन्दा गरेको छ ।
महासंघका सचिव नेत्र पी अधिकारीले विज्ञप्ति प्रकाशित गरी पत्रकार आक्रमणमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् । हुलहुज्जतका क्रममा पक्राउ परेकालाई भने प्रहरीले छाडिदिएको छ ।