उदयपुर । त्रियुगा र कटारी नगरपालिकाको निर्वाचन प्रक्रियामा विवाद भइहरेको बेला उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजनीनामा दिएका छन् ।
सहायक निर्वाचन अधिकृत दिलीप मगरका अनुसार स्वास्थ्य कारण देखाउँदै खनालले निर्वाचन आयोगमा राजीनामा पठाएका हुन् ।
जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटामा मतगणना जारी छ । तर, त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा मतगणना हुन सकेको छैन । त्रियुगा नगरपालिका १२ को मतदान केन्द्रमा मतदान अधिकृतले मनमौजी गरेको भन्दै उम्मेदवारका प्रतिनिधिहरुले विरोध गरेपछि मतदान बिचमै अबरुद्ध भएको थियो । कटारी नगरपालिका १० को कालिका माध्यमिक विद्यालय सोरुङको मतदान केन्द्रबाट मतपेटीका कटारी नगरपालिकाको निर्वाचन कार्यालयसम्म आइपुगेको छैन् ।
मतदान सम्पन्न भएपछि मतपेटीका शिलबन्दी गर्ने क्रममा अराजक समूहले बुथ कब्जा गर्न खोजेको भन्दै प्रहरीले कटारीमा गोली चलाएको थियो । घटनामा एक जनाको मृत्यु भएको थियो भने एक घाइते भएका छन् ।
गोली काण्डपछि आक्रोसित भएका स्थानीयको अवरोधले मतपेटीका मतदान केन्द्रबाट कटारीको मतगणना स्थलसम्म ल्याउन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत मगरले कटारीको गोली चलेको मतदान केन्द्रमा सर्वदलीय बैठक बसिरहेको जानकारी दिँदै त्यसपछि मतगणना प्रक्रिया अघि बढ्ने बताए ।
त्रियुगा नगरपालिका १२ को विवादमा भने निर्वाचन आयोगले जिल्लामै जाँचबुझ गरी निर्णय गर्न पत्र पठाएको छ । तर, मूख्य निर्वाचन अधिकृतको राजनीनामाले निर्णय गर्न समस्या भएको छ ।
अब आयोगले मुख्य निर्वाचन अधिकृत तोकेपछि मात्र त्रियुगाको विवाद समाधान हुने देखिएको छ ।