काठमाडौंमा ५२ प्रतिशत मात्र मत खस्दा बालेनलाई फाइदा

काठमाडौं । मुलुकको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं महानगरपालिकामा अपेक्षाभन्दा धेरै कम मत खसेको छ । काठमाडौंमा ५२ प्रतिशत हाराहारी मात्र मत खस्दा स्वतन्त्र उम्मेदवार बालेन साहलाई फाइदा पुगेको अनुमान गरिएको छ ।

स्थानीय चुनावमा युवा र नयाँ पुस्ताका मतदाताले उत्साहजनक रुपमा मतदान गरेको भएपनि पुराना मतदाताले मतदानप्रति अनिच्छुक देखिएको छ । युवा र नयाँ पुस्ताबीच बालेन लोकिप्रय रहेकोले ती मतदाताको धेरै मत उनले पाउने विभिन्न सर्वेक्षणहरुले पनि देखाएको रिपोर्ट सार्वजनिक भएको छ ।

दलहरुको परम्परागत भोटबैंक मानिने पुराना मतदाताहरुले मतदानमा अनिच्छा देखाउँदा दलहरुका उम्मेदवारलाई क्षति पुगेको अनुमान छ । महानगरको ४५ प्रतिशतभन्दा धेरै मतदाताले कसैलाई भोट हाल्ने जाँगर नदेखाउनु अपेक्षा विपरित भएको निर्वाचन आयोगका पदाधिकारीहरु बताउँछन् ।

पछिल्लो समय युवा पुस्ताका मात्र नभएर पुराना मतदाताबीच पनि बालेन लोकप्रिय रहेको उनको चुनाब प्रचार अभियानदेखि मतदानको दिनसम्म देखिएको थियो । मतदानका दिनसम्म आइपुग्दा बालेनप्रति देखिएको आकर्षणले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उनले टक्कर दिने देखिएको छ।

काठमाडौंका मतदाताले व्यवस्थाप्रतिको असन्तुष्टि प्रकट गर्ने क्रममा नसोचेको उम्मेदवारलाई जिताउने गर्दै आएका छन् । त्यसैले काठमाडौंको मेयरमा दलका उम्मेदवार परास्त गर्दै बालेन साह निर्वाचित हुने संभावना कमजोर देखिएको छैन ।

शुक्रबार, ३० बैशाख, २०७९, रातीको ०९:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर