विराटनगर । सरकारले विरामीको उपचार नगर्ने अस्पताललाई कार्वाही गर्ने चेतावनी दिइरहेको बेला धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक महिलाको मंगलबार अस्पतालकै लापर्वाहीको कारण मृत्यु भएको छ ।
धनुकटाबाट धरान हुँदै विराटनगर ल्याइएकी महालक्ष्मी नगरपालिका–५ की ५२ वर्षीया नरदेवी गुरुङको अस्पालहरुले उपचार गर्न नमान्दा मृत्यु भएको आफन्तले बताएका छन् ।
मंगलबार बिहान उच्च रक्तचापकका कारण एक्कासी बेहोस भएपछि गुरुङलाई आफन्तले धनकुटाको क्लिनिक हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएका थिए । धरानले आइसियू खाली नभएको भन्दै उनलाई विराटनगर रेफर गरेको थियो । महिलालाई ज्वरो पनि आएकोले न्यूरोले आफूसँग भेण्टिलेटर नभएको बताउँदै विराट नर्सिङ होममा पठाएको थियो । त्यहाँबाट चिकित्सकले नोबेल पठाएकोमा उनको मृत्यु भएको हो ।
न्युरोमा पुगेपछि स्वास्थ्यकर्मीले औषधि किन्न लगाएर उपचार सुरु गरेका थिए । तर, पछि चिकित्सक आएपछि धेरै ज्वरो आएको बिरामी उपचार गर्न सकिँदैन भनेर निकालिदिएको छोरी लक्ष्मी गुरुङले जानकारी दिनुभयो । त्यसपछि विराटमा पुग्दा पनि सुरुमा बेडमा राखेर औषधि किन्न लगाएको र अरु अस्पतालको कागजपत्र हेरेपछि रेफर गरिदिएको उहाँले बताउनुभयो ।
विराटको इमरजेन्सीमा विरामीको कागज हेरेपछि चिकित्सकले नोबेल मेडिकल कलेज पठाएका थिए । नोबेलमै उपचार थालिएकोमा मंगलबार अपरान्ह आमाको मृत्यु भएको मृतककी छोरी लक्ष्मी गुरुङले बताउनुभयो ।
घरबाट विहान १० बजे धरान आइपुगेको र त्यहाँबाट न्युरो, विराट हुँदै २ः३० बजे नोबेल पुग्दा चिकित्सकले विरामी ढिलो ल्याएको बताएको लक्ष्मीको भनाइ छ । ‘घोपाले रेफर गरेपछि न्यूरो र विराटले भर्ना नै लिएनन्,’ लक्ष्मीले भन्नुभयो, ‘अस्पतालले समयमा नै उपचार नगरेका कारण आमाको मृत्यु भएको हो ।’
मृतक गुरुङमा ज्वरो देखिएको थियो । कोरोनासँग मिल्दो अरु लक्षण थिएन । तर, अस्पतालहरुले कोरोनाको आशांका भन्दै भर्ना नलिएनका हुन् । उच्च रक्तचापका कारण ढलेकी आमालाई अस्पतालको लापर्वाहीकै कारण बचाउन नसकेको परिवारको गुनासो छ । छोरी लक्ष्मीले लापरवाही गर्ने अस्पताल र डाक्टरलाई कारवाही हुनुपर्ने माग गर्नुभएको छ ।
विराट नर्सिङ होमका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सुरक्षात्मक उपाय नभएका शंकास्पद विरामीको उपचार गर्न नसकिने बताउनुभयो । पछिल्ल्लो समयमा सबै बिरामीलाई कोरोना संक्रमित देख्ने अस्पतालको नजरले समस्या जटिल बनेको छ । अन्य समस्या लिएर आएका विरामीलाई अस्पतालहरुले उपचार गर्न नमान्ने गरेको पाइएको छ ।