जहदामा पुरानैबीच प्रतिस्पर्धाः विकल्प दिने पूर्वकमान्डरको दावी

विराटनगर । भारतमा सीमा जोडिएको विराटनगरको छिमेकी गाउँपालिका जहदामा चुनावी माहोल तातेको छ ।

अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का कैलाशप्रसाद मण्डलले जितेको गाउँपालिकामा उनी नै दोहोरिएर उम्मेदवार बनेका छन् भने त्यसबेला उनकै प्रतिष्पर्धी रहेका राजकुमार यादवलाई माओवादी केन्द्रले फेरि उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसले पनि अघिल्लो पटककै उम्मेदवार जितेन्द्रप्रसाद साहलाई र एमालेले यसोदा गिरीलाई मैदानमा उतारको छ ।

विगतको चुनावी परिमाणलाई आधार मान्दा जहदामा जसपा, माओवादी र काँग्रेसबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । जसपाले उपाध्यक्षमा निवर्तमान उपाध्यक्षलाई शालो साहलाई नै उठाएको छ भने माओवादी केन्द्रले गुलाफकुमारी महतोलाई उम्मेदवार बनाएको छ ।

माओवादीबाट अध्यक्षको उम्मेदवार भएका यादव तत्कालिन जनमुक्ति सेनाका पूर्वबटालियन कमान्डर हुन् । विद्यार्थी संगठनबाट राजनीतिकमा सक्रिय भएका ४१ वर्षीय यादव सामाजिक रुपमा भिजेका इमान्दर नेताको रूपमा परिचित छन् । विशेषगरी यसपटक थपिएका नयाँ मतदाता रिझाउन उम्मेदवारहरुले जोड दिएका छन् ।

२०७४ को चुनावमा २१ हजार ४६७ मतदा रहेकोमा यस पटक ४ हजार २४८ मतदाता थपिएका छन् । यो पटको चुनावमा माओवादीले र काँग्रेले नयाँ जनमत खडा गर्ने दाउमा छन् भने जसपाले बिरासतलाई कायम राख्ने प्रयास गरिरहेको छ ।

अघिल्लो निर्वाचनमा जसपका मण्डलले ५ हजार ५९ मत ल्याएर विजयी बन्दा काँग्रेसका साहले ३ हजार ६५९, माओवादी केन्द्रका यादवले २ हजार ९० र एमालेका त्रिभुवन मण्डलले १ हजार ५६३ मत प्राप्त गरेका थिए । गएको कार्यकालमा जसपाको नेतृत्वले उल्लेखनीय काम नगरेकोले आफूहरुको पक्षमा जनमत आउने काँग्रेस र माओवादीका उम्मेदवारको दावी छ ।

पाँच वर्षमा जसपाको स्थानीय सरकार रहँदा कुनैपनि उदाहरणीय काम नभएकोले नागरिक निराश र दिक्क भएको बेला आफू विकल्प बनेको माओवादी उम्मेदवार यादबले बताए । एमालेबाट उम्मेदवार बनेकी गिरी विगतमा जसपामै रहेकोमा पार्टी छाडेकोले जसपा कमजोर भएको कारण त्यसको फाइदा पनि आफूलाई हुने उनको उनले बताए । चुनाब हारेपनि गाउँबासीको हितमा निरन्तर सक्रिय रहेकोले यसपटक आफूलाई मतदाताले विकल्पको रुपमा न्याय गर्ने यादवको अपेक्षा छ ।

जसपाले ५ वर्षको कार्यकालमा उल्लख्य काम नगरेको व्यक्तिलाई पुनः टिकट दिएकोले गएको चुनाबमा निकटतम् प्रतिद्वन्दी रहेको कारण आफू चुनाब जित्ने काँग्रेस उम्मेदवार साह बताउँछन् । जसपाभित्रको असन्तुष्ट मत पनि आफूलाई आउने उनको दावी छ ।

तर, काँग्रेसबाट विद्रोह गरेर संविधानसभा सदस्य आशाकुमारी पनि उपाध्यक्षको उम्मेदवार बनेकोले काँग्रेसको कलहले उसलाई क्षति पुग्ने देखिएको छ । विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै नेपाली कांग्रेसमा आबद्ध सरदारले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

जसपाबाट अध्यक्षका उम्मेदवार बनेका मण्डल भने विपक्षीले विगतमा काम नभएको भनेर गरेको प्रचार गलत भएको दावी गर्दै आफूले गरेको विकास र जनपक्षीय कामकै कारण चुनाब जित्ने दावी गर्छन् । जहदा जसपाको गढ रहेकोले कसैले हल्लाउन नसक्ने उनको दावी छ ।

बैशाख २५, २०७९, रातीको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर