विराटनगर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लिएर मोरङको रंगेलीमा झडपको स्थिति सृजना भएपछि साँझ ७ बजेपछि चुनाब प्रचारमा रोक लगाइएको छ ।
आइतबार रंगेलीमा राजनीतिक दलका नेता र उम्मेदवारहरूसहितको उपस्थितिमा बसेको सर्वदलीय बैठकले ७ बजेपछि चुनाव प्रचारप्रसार नगर्ने निर्णय गरेको हो ।
रातिको समयमा चुनाव प्रचारको क्रममा मतदाता प्रभावित पार्न पैसा वितरण गरेको भन्दै नेपाली कांँग्रेस र नेकपा एमालेका कार्यकताहरूले एकअर्काप्रति आरोप लगाउँदै झडपको अवस्था निम्त्याएपछि यस्तो निर्णय गरिएको निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले जानकारी दिए । आइतबारदेखि नै साँझ ७ बजेपछि आफ्नो वडाबाहेक अन्यत्र जान उम्मेदवार र दलका कार्यकर्तालाई पनि रोक लगाइएको छ ।
सर्वदलीय बैठकमा सबै दल र उम्मेदवारले निर्वाचन आचरसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । साँझपछि चुनाबी भेला नगर्ने, ¥याली ननिकाल्ने, डिजेको प्रयोग नगर्ने र वडाभन्दा बाहिर नजाने सहमति भएको छ । सहमति उल्लंघन गरे कार्वाही हुने निर्वाचन कार्यालयले जनाएको छ ।
चुनाव प्रचार प्रसारका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताले एकअर्काको सवारी साधन नियन्त्रणमा लिएर पैसा वाँडेको आरोप लगाउने गरेका थिए । व्यक्तिको गोजी र पर्स चेक गर्ने क्रम बढेपछि दुईपक्षीय झडपलाई नियन्त्रण गर्न कडाई गरिएको निर्वाचन अधिकृत काफ्लले बताए ।
कांग्रेसका कार्यकर्ताले रंगेली ८ मा शुक्रबार चुनाव प्रचारमा पुगेका दर्जन बढी एमाले कार्यकर्तालाई घेराउ गरेर सवारी साधन नियन्त्रण लिएका थिए । उनीहरूको साथमा भएको रकमसमेत काँग्रेस कार्यकर्ताले कब्जा गरेको विरोधमा एमाले कार्यकर्ताले शनिबार रंगेली ३ रञ्जनीमा कांग्रेसका नगर सभापति जगनाथ मण्डलसहित क्षेत्रीय प्रतिनिधि चढेको गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दै ३ सय रुपैयाँ रहेको खाम कब्जा गरेर प्रहरीमा बुझाएका थिए ।
काँग्रेस नगर सभापति मण्डलसहित निवर्तमान वडा अध्यक्ष घनश्याम पनेरुको घरमा भइरहेको पुराणमा सहभागी हुन जाने क्रममा एमाले कार्यकर्ताले घेराउ गरेका थिए । कांग्रेसका क्षेत्रीय प्रतिनिधि नरेश साहले पुराणमा ब्राम्हणलाई टिका लगाएर दिन खाममा हालेको पैसा एमाले कार्यकर्ताहरुले कब्जा गरेको बताए ।
रंगेलीमा २ सय ६८ जना उम्मेदवारी चुनावी मैदानमा छन् । मेयरमा ८ र उपमेयरमा ८ जनाको उम्मेदवारी परेको छ । रंगेली नगरपालिकाको मेयरमा एमालेवाट निवर्तमान मेयर दिलिप बगडिया र कांग्रेसबाट जनता समाजवादी पार्टीको सहयोगमा जिल्ला सचिव मोदराज घिमिरे चुनावी मैदानमा छन् ।