मतदाता नामावलीमा छुटेका विद्यार्थीलाई ‘थकथकी’

महेन्द्र मोरङ क्याम्पसको पहिलो ब्याचका ७५ प्रतिशत विद्यार्थीको नाम छुट्यो । उनीहरु भन्छन्, ‘नाम टिपाउने, फोटो खिच्ने समय नै थाहा भएन’

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरको बिबिएस पहिलो वर्षमा अध्ययनरत विराटनगर–१८ की रविना कुमारी साह १९ वर्ष लागिन् । नेपालको संविधान अनुसार उनको उमेर मतदानयोग्य भइसकेको छ । तर, उनको मतदाता नामावलीमा नाम छैन ।

अहिले निर्वाचनको माहोल बढिरहेको बेला कसलाई भोट हाल्ने, कस्ता एजेण्डा ल्याउनेलाई भोट हाल्ने, कुन पार्टीलाई भोट हाल्ने भन्ने विषयमा चियादेखि चौकोसम्म चर्चा छ । सबैले भोट यसलाई हाल्ने, उसलाई हाल्नेभन्दा उनलाई पनि नाम छुटेकोमा थकथकी लागेको छ ।

‘पहिले भोटर लिष्टमा नाम टिपाउने विषय नै थाहा भएन, भोट हाल्न पाएको भए छुट्टै मज्जा हुने थियो,’ उनी भन्छिन् । उनलाई चुनावमा जितेर गएका मानिसमा घमण्ड नआओस् भन्ने लागेको छ । ‘मान्छेमा घमण्ड नआओस् । पद पाएपछि मानिसलाई सहयोग गरोस्, जातजातिबीच भेदभाव नगरोस्, पीडितलाई सहयोग गरोस्,’ उनी भन्छिन् ।

महेन्द्र मोरङ क्याम्पसमै अध्ययनरत विराटनगर १३ का निश्चल श्रेष्ठको पनि भोट लिष्टमा नाम छुटेको छ । ‘मतदाता नामावलीमा नाम छुट्यो । त्यसबेला इच्छा पनि गरिएन, आयोगको सूचना पनि थाहा पाइएन,’ उनी भन्छन्, ‘तर, अहिले निर्वाचनको माहोल छाइरहँदा भोट हाल्न पाउने उमेर भएर पनि नपाएकोमा कस्तो कस्तो लागेको छ, जितेर जानेले रोजगारीको अवस्था सिर्जना गरुन् । काम अनुसारको दाम पाइयोस् ।’

विराटनगर–४ का निशम कार्कीको नागरिकता पनि छ । तर, मतदाता नामावलीमा नाम छैन । विराटनगरकै राहल साहलाई पनि भोट हाल्न एकदमै मन लागेको छ । तर, उनको भोटर लिष्टमा नाम छैन ।

विराटनगर ८ की अञ्जली साहलाई पनि निर्वाचन माहोलले छपक्कै छोपेको छ । राजनीतिक चर्चा परिचर्चामा सहभागी हुने उनको उमेर भएर पनि नागरिकता छैन । उनको बुबाको अंगिकृत नागरिकता पाएका छन् । तर, उनले नागरिकता पाएकी छैनन् र मतदाता परिचयपत्र पनि पाइनन् । उनले सोधिन्, ‘मैले नागरिकता कहिले पाउँछु ?’ नागरिकता भए रोजगारी पाइन्थ्यो, विदेश जान पाइन्थ्यो ।

भोजपुर षडानन्द नगरपालिका १० की अञ्जना काफ्ले मतदाता परिचयपत्रका लागि फोटो खिच्न भोजपुर नै जानुपर्ने भएको कारण छुटेको बताउँछिन् । उनी पनि महेन्द्र मोरङ क्याम्पसमै अध्ययनरत छन् । धनकुटाकी लीला पौडेल हुन् या मोरङ कानेपोखरीकी सुस्मीता सुवेदी हुन् । उनीहरुको पनि मततादा नामावलीमा नाम छैन । भोट हाल्न उनीहरुलाई पनि मन लागेको छ ।

महेन्द्र मोरङ क्याम्पसकी विद्यार्थी नेतृ आशिका लम्सालले आफ्ना धेरै साथीहरुको उमेर भएर पनि नामावली नभएको बताइन् । ‘महेन्द्र मोरङ क्याम्पसमा ब्याचलर पहिलो वर्षमा अध्ययन गर्नेमध्ये ७०–७५ प्रतिशत विद्यार्थीको मतदाता नामावलीमा नाम रहेनछ,’ उनले भनिन्, ‘अहिले भोट हाल्न पाइँदैन, नाम टिप्न मिल्दैन भनेर सोधिरहेका छन्, यस्तो संख्या ४ हजारभन्दा धेरै छ ।’

मतदाता नामावलीमा नाम छुट्नुमा निर्वाचन आयोग, जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता तथा स्वयं नयाँ पुस्ता जिम्मेवार छन् । नाम छुट्नुमा नयाँ जेनेररेसनलाई राजनीतिप्रतिको वितृष्णा पनि हो । अर्को कुरा निर्वाचन आयोगले पनि जनप्रतिनिधिहरुलाई खटाएर नाम टिपाउने, खोजी गर्ने कुरामा चुकेको देखिन्छ ।

बैशाख २५, २०७९, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर