विराटनगर । सत्तागठबन्धनले आज दाङका दुई स्थानमा स्थानीय तह निर्वाचन लक्षित चुनावी सभा गर्ने भएको छ ।
तुलसीपुरको अरणी मौदान र घोराहीको जिल्ला समन्वय समिति मैदानमा चुनावी सभा गर्ने छन ।
सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।
सभाका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेललगायत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सत्तागठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार छन्।
घोराही उपमहानगरमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) मेयरमा र कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरमा उम्मेदवार छन्। दाङका १० पालिकामध्ये तुलसीपुर, घोराही र बंगलाचुलीमा मात्रै सत्तागठबन्धन दलले तालमेल गरेका छन्।
लमही नगरपालिकासहित जिल्लाका अन्य सात पालिकामा दलहरु एक्ला एक्लै मैदानमा उत्रिएका छन्।
कांग्रेस, माओवादीलगायत दलबाट विभिन्न पालिका र वडाहरुमा स्वतन्त्र उम्मेदवारीसमेत परेको हुँदा उनीहरुलाई फकाउन तथा सम्बोधन गर्न शीर्ष नेताहरु दाङ जान लागेका हुन ।