धनकुटा ।वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मतदाताको चापदेखि विगतका घटनासम्मलाई हेरेर धनकुटामा अति संवेदनशील केन्द्रहरुमा सुरक्षा कडाइ गरिने भएको छ ।
निर्वाचन आयोगले तोकेको ११८ मतदान स्थल र १५९ मतदान केन्द्रमध्ये निर्वाचनमा सुरक्षा दृष्टिले १५ वटा मतदान स्थललाई अति संवेदनशील, ४९ वटा मतदान स्थललाई संवेदनशील र ५४ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठका अनुसार अतिसंवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइनेछ ।
निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी २ हजार ५१ जना सुरक्षाकर्मी परिचालन गरिने धनकुटाका प्रहरी उपरीक्षक एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । अतिसंवेदनशील भनिएका ठाउँमा आवश्यकता अनुसार ११ जनाभन्दा धेरै सुरक्षाकर्मी खटाइनेछ ।
निर्वाचन सुरक्षााको लागि जिल्लामा ८५७ म्यादी प्रहरी, ४८९ जना नेपाल प्रहरी, २०८ जना सशस्त्र प्रहरी र ४८६ जना नेपाली सेना परिचालन हुनेछन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार निर्वाचनमा सेनाको भूमिका प्रत्यक्ष रुपमा नहुने भएपनि तेस्रो घेरामा सहायताका लागि तयारी अवस्थामा रहनेछ ।
निर्वाचनको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने प्रशासनले जनाएको छ । नेपाल प्रहरी खटिएको कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा निर्वाचनभरी नेपाली सेना परिचालन गरिनेछ ।