विराटनगर । कोरोना भाइरस संक्रमणको त्राससँंगै पोल्ट्री व्यवसाय र कुखुरापालक किसान नराम्ररी प्रभावित भएका छन् ।
कुखुराको दाना अचाक्ली महंगिएपछि किसानहरु दाना खुवाएर कुखुरा पाल्न नसक्ने अवस्था उत्पन्न भएको छ । दाना किनेर खुवाउन नसक्ने अवस्था भएपछि धरानका कुखुरापालक किसान मिनकुमार दाहालले खोरमा पालेको ब्रोइलर कुखुरा बारीमा छोडेर चराउन थाल्नु भएको छ ।
ब्रोइलर कुखुरा खोरमा राखेर सुरक्षितसाथ पाल्नु पर्छ । छिट्टै संक्रमण हुने र कमजोर शारीरिक क्षमताका कारण बाहिर छोडेर पाल्दा मर्नेदर बढी हुन्छ । दाहालले बाध्यताले खोरको कुखुरा बारीमा चराउन थाल्नुभएको हो ।
कुखुरा पाल्नै छोडे
बजारमा दानाको अभाव पनि उत्पन्न भएको छ । कच्चा पदार्थको आयात प्रभावित भएसँगै मूल्य बढेको र बढेको मूल्यमा दाना किनेर खुवाउँदा कुखुरा पाल्ने किसानलाई फाइदा नहुने भएपछि पछिल्लो समय किसानले कुखुराको चल्ला हाल्नै छोडेका छन् ।
बजारमा बिक्री पनि छैन
बजारमा कुखुराको माग पनि घटेको छ । होटल, रेष्टुरेन्ट लगायत सबै क्षेत्र लकडाउनका कारण बन्द भएको छ । जसले गर्दा मासुको खपत घटेको व्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार कुखुराको माग घटेपछि खोरमा चल्ला हालेका धेरैले आफ्ना चल्ला नष्ट गरेका छन् ।
एकातिर दानाको मूल्य बढेको छ भने अर्कोतिर बजारमा कुखुराको माग घटेको छ । यस्तो बेला कुखुरामा लगानी गर्दा ठूलो नोक्सानी हुने भएपछि कसैले खेतबारीमा ब्रोइलर चराउन थालेका छन् भने कसैले चल्ला नष्ट गर्ने त कतिले केही समय कुखुरा नपाल्ने निर्णय गरेका छन् ।