ओलीको गृहजिल्लामा एमालेमाथि गठबन्धन हाबी

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाका १५ स्थानीय तहमध्ये आगामी स्थानीय तहको निर्वाचनमा १० स्थानीय तहमा सत्ता गठबन्धनले संयुक्त उम्मेदवारी दिएर नेकपा एमालेसँग चुनावी प्रतिष्पर्धा गर्दैछ । जिल्लाको एक पालिकामा भने नेपाली काँग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको छ भने बाँकी ४ पालिकामा दलहरु एकल रुपमा चुनबी मैदानमा छन् ।

जिल्लाका १० स्थानीय तहमा सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएका छन् । गठबन्धनमा आबद्ध अन्य दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने कतिपय स्थानमा एकल रुपमा चुनाबी मैदानमा उत्रिएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेका ६ स्थानीय तह र काँग्रेसले जितेका ४ स्थानीय तहमा काँग्रेस र माओवादी केन्द्रको तालमेल भएको छ । ती सबै पालिकामा काँग्रेसकले मेयर÷अध्यक्ष र माओवादीले उपमेयर÷उपाध्यक्ष लिएको छ । गत निर्वाचनमा राप्रपाले जितेको कचनकबल गाउँपालिकामा भने काँग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिएर तालमेल गरेका छन् ।

जिल्लाको गौरिगंज, झापा र हल्दीबारी गाउँपालिका तथा कन्काई नगरपालिकामा भने सबै दलहरु एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालको निर्वाचनमा गौरीगंज र हल्दीबारी राप्रपाले जितेको थियो भने बाह्रदशी र झापा काँग्रेसले तथा कन्काई नगरपालिका एमालेले जितेको थियो ।

काँग्रेस र माओवादीबीच तालमेल भएको स्थानीय तहमा २०७४ सालमा दलहरुले प्राप्त गरेको मत हेर्दा अधिकांश स्थानमा एमाले पराजित हुने देखिएको छ । अझ त्यसमाथि एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीको कारण पनि एमालेको मत काटिने भएकोले उसमाथि दबाब परेको छ ।

अघिल्लो निर्वाचनको मत परिणामलाई आधार मान्दा गौरादह, दमक, मेचीनगर, भद्रपुर र विर्तामोड नगरपालिका तथा बाह्रदशी र कमल गाउँपालिकामा गठबन्धन दल धेरै मतले अगाडि छन् । शिवसताक्षी र अर्जुनधारा नगरपालिकामा भने गठबन्धन कायम हुँदा पनि एमालेको मत धेरै छ । तर, ती पालिकामा पनि एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीले धेरै मत काट्ने भएकोले गठबन्धन दलहरु आफूहरु विजयी बन्ने दावी गर्छन् ।

दमक नगरपालिका
एमाले अध्यक्ष ओलीको गृहनगर दमक नगरपालिकामा सत्ता गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेर उम्मेदवारी दिएको छ । जहाँ गठबन्धनको पक्षमा २० हजार ९२ मत देखिन्छ भने सग्लो एमालेको मत १० हजार ८०६ मत हो । अघिल्लो पटक एमालेले जितेको दमकमा अहिले गठबन्धन ८ हजार ७०६ मतले अगाडि छ ।

दमकमा वैशाख ३० गतेको निर्वाचनको लागि गठबन्धनबाट मेयरमा राप्रपाका राम थापा र उपमेयरमा काँग्रेसकी रेगिना भट्टराई उम्मेदवार छन् । नेकपा एमालेले मेयरमा निवर्तमान उपमेयर गीता अधिकारी र उपमेयरमा अम्बिका खनाललाई मैदानमा उतारेको छ ।

गौरादह नगरपालिका
एमाले अध्यक्ष ओलीकै निर्वाचनत क्षेत्रमा पर्ने गौरादह नगरपालिकामा गठबन्धन दल ३ हजार ८८२ मतले अगाडि छ । अघिल्लो निर्वाचनमा मेयर जितेको काँग्रेस र माओवादीको मत मिलाउँदा१३ हजार ७३६ मत छ भने नेकपा एमालेले पाएको मत ९ हजार ८५४ हो ।

गौरादहमा गठबन्धनबाट काँग्रेसका निवर्तमान मेयर रोहितकुमार साह नै मेयरका उम्मेदवार छन् भने उपमेयरमा माओवादी केन्द्रका पुष्पराज ढकाल उम्मेदवार छन् । नेकपा एमालेले वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष छत्रपति सुवेदीलाई मेयरमा र कार्यपालिका सदस्य जलवर्षा राजवंशीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

कमल गाउँपालिका
अघिल्लो पटकको निर्वाचनमा बराबरी मत ल्याएर गोलाप्रथाबाट मतपरिणाम टुंगो लगाएको कमल गाउँपालिकामा गठबन्धन दल २ हजार ४९ मतले अगाडि छ । कमलमा गठबन्धको मत १० हजार ३२४ र एमालेको ८ हजार २७५ मत छ ।

कमलको अध्यक्षमा गठबन्धनबाट अघिल्लो पटक गोलाप्रथामा पराजित काँग्रेसका हुकुमसिं राई र उपाध्यइामा माओवादी केन्द्रका पर्शुराम सुवेदी उम्मेदवार छन् । एमालेले अध्यक्षमा भीम राई र उपाध्यक्षमा प्रमिला तिवारीलाई उम्मेदवार बनाएको छ ।

मेचीनगर नगरपालिका
झापाको मेचीनगर नगरपालिकामा गठबन्धन दल नेकपा एमालेभन्दा ९ हजार ५८७ मतले अगाडि छ । अघिल्लो पटक काँग्रेसले जितेको मेचीनगरमा गठबन्धनको मत २८ हजार ७७० र एमालेसँग १९ हजार १९२ देखिन्छ ।

मेचीनगरमा गठबन्धनबाट मेयरमा काँग्रेसका इन्द्र बुढाथोकी र उपमेयरमा माओवादी केन्द्रका प्रकाश भण्डारी उम्मेदवार छन् । नेकपा एमालेले प्रदेशसभा सदस्यबाट राजिनामा गराएर गोपाल बुढाथोकीलाई मेयरमा उम्मेदवार बनाएको छ भने उपमेयरमा निवर्तमान उपमेयर मीना उप्रेतीलाई नै उम्मेदवार बनाएको छ ।

विर्तामोड नगरपालिका
अघिल्लो निर्वाचनमा मेयर र उपमेयर एमालेले जितेको विर्तामोडमा गठबन्धनले चुनौति थपिदिएको छ । विर्तामोडमा गठबन्धन दल ११ हजार ३२४ मतसहित छ भने एमालेसँग ९ हजार ११२ मत रहेको देखिन्छ । त्यहाँ गठबन्धनको मत २ हजार २१२ ले अगाडि छ ।

विर्तामोडमा गठबन्धनबाट मेयरमा काँग्रेसका भोजराज सिटौला र उपमेयरमा माओवादी केन्द्रका सिपी कडरिया उम्मेदवार छन् । नेकपा एमालेले मेयरमा निवर्तमान उपमेयर पवित्रा महतारा र उपमेयरमा नगेन्द्र संग्रौलालाई उम्मेदवार बनाएको छ ।

भद्रपुर नगरपालिका
झापाको सदरमुकाम भद्रपुर नगरपालिकामा गठबन्धन दल एमालेभन्दा झिनो मतान्तरले अगाडि छ । अघिल्लो पटक ११ हजार ४२ मत मत ल्याएर एमालेले जितेकोमा गठबन्धन दलको मत ११ हजार ३४९ थियो । गठबन्धन एमालेभन्दा ३०७ मत मात्र अगाडि रहेकोले त्यहाँ चर्को प्रतिष्पर्धा हुने देखिएको छ ।

भद्रपुरमा गठबन्धनले मेयरमा काँग्रेसका गणेश पोखरेल र उपमेयरमा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले मेयरमा असारु राजवंशी र उपमेयरमा कौशिला अधिकारीलाई मैदानमा अगाडि बढाएको छ ।

बुद्धशान्ति गाउँपालिका
अघिल्लो पटक काँग्रेसले जितेको बुद्धशान्ति गाउँपालिकामा नेकपा एमाले गठबन्धनभन्दा २ हजार ५०९ मतले पछिाड छ । त्यसबेला एमालेले ७ हजार ५५३ मत प्राप्त गरेको थियो भने गठबन्धन दलको मत १० हजार ६२ थियो ।

बुद्धशान्तिमा गठबन्धनको तर्फबाट काँग्रेसका मनोज प्रसाईं अध्यक्षका उम्मेदवार छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका खड्ग तिम्सिना छन् । नेकपा एमालेले मीरा भुर्तेललाई अध्यक्ष र धरणी पोखरेललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

बाह्रदशी गाउँपालिका
जिल्लाको बाह्रदशी गाउँपालिकामा गठबन्धन दल झण्डै २२ सय मतान्तरले अगाडि छ । अघिल्लो पटक काँग्रेसले जितेको सो पालिकामा गठबन्धन दलसँग ७ हजार ३२४ मत छ भने नेकपा एमालेसँग ५ हजार १११ मत रहेकोले गठबन्धन कार्यान्वयन भएको अवस्थामा नेकपा एमालेका लागि सहज अवस्था छैन ।

बाह्रदशीमा गठबन्धन दलको तर्फबाट अध्यक्षमा काँग्रेसका खड्ग राजवंशी र उपाध्यक्षमा माओवादी केन्द्रका शंकर सेढाई उम्मेदवार छन् । एमालेले अध्यक्षमा देवेन्द्र चौलागाई र उपाध्यक्षमा शान्ता न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

शिवसताक्षी नगरपालिका
झापाकै शिवसताक्षी नगरपालिकामा भने गठबन्धन दलभन्दा एमाले बलियो देखिएको छ । त्यहाँ गठबन्धन दलको मतभार १२ हजार २२५ हुँदा एमालेसँग १३ हजार ४२९ मत रहेकोले एमाले १ हजार २३४ मतले अगाडि देखिन्छ ।

शिवसताक्षीमा गठबन्धनबाट मेयरमा काँग्रेसका पर्शुराम ढुंगाना र उपमेयरमा माओवादी केन्द्रका महेन्द्र भट्टराई उम्मेदवार छन् । त्यहाँ नेकपा एमालेले मेयरमा रोशन थोप्रा र उपमेयरमा नगरमाया कार्कीलाई उम्मेदवार बनाएको छ ।

अर्जुनधारा नगरपालिका
झापाको अर्जुनधारा नगरपालिकामा पनि गठबन्धन कमजोर देखिएको छ । अर्जुनधारामा नेकपा एमाले एक्लैसँग १३ हजार ८७९ मत छ जुन गठबन्धन दलसँग भएको १२ हजार १४७ मतभन्दा १७ सयले धेरै हो ।

अर्जुनधारामा गठबन्धनका तर्फबाँट काँग्रेसका रञ्जिता कार्की मेयर र माओवादी केन्द्रका जितेश योन्जन उपमेयरको उम्मेदवार छन् । नेकपा एमालेले मेयरमा बलदेव गम्देन र उपमयेरमा खड्गमाया पराजुलीलाई उम्मेदवार बनाएको छ ।

कचनकवल गाउँपालिका
नेपालकै होचो भूभाग रहेको झापाको कचनकवल गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका विरुद्ध नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । दुई दलको गठबन्धनका कारण त्यहाँ राप्रपा संकटमा पुगेको छ । काँग्रेस एमालेको गठबन्धनसँग ९ हजार ३२४ मत रहेको देखिन्छ भने राप्रपासँग ५ हजार ८१६ मत मात्र छ ।

कचनकवलमा काँग्रेस–एमालेको गठबन्धनबाट अध्यक्षमा काँग्रेसका कलेन्द्रप्रसाद राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार छन् । राप्रपाले निवर्तमान गाउँपालिका अध्यक्ष अन्जरा आलमलाई नै पुनः अध्यक्षको उम्मेदवार बनाएको छ ।

बुधबार, २१ बैशाख, २०७९, रातीको ०८:१२ बजे

प्रतिक्रिया

  1. गठबधन भन्दा एमाले अलिकति मात्रा कमजोर रहेछ अघिल्लो मत परिणाम हेर्दा। एक्ला एक्लै भिड्डा कस्तो रिजल्ट आउन सक्थ्यो ,त्यो नी विश्लेषण गरी अर्को लेख छापाउनु होस्।

प्रतिक्रिया:

सम्बन्धित खवर