विराटनगर । अदालतबाट ठगी मुद्दामा दोषी प्रमाणित भएर कैद तथा जरिवाना समेत तोकिएका फरार रहेका एक प्रतिवादीले ओखलढुंगाको चिसंखुगढी गाउँपालिका अध्यक्षमा उम्मेद्वार भएको पाइएको छ ।
चिसंखुगढी गाउँपालिका नेकपा एमालेबाट अध्यक्षको उम्मेद्वारी दर्ता गरेका अशोककुरमार थापा ठगी मुद्दामा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट सजाय तोकिएका व्यक्ति भएको खुलेको हो ।
कास्कीको पोखरा महानगरपालिका १० की दिवानी सुवेदीको जाहेरीमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको इजलासले २०७३ चैत १३ गते थापालाई ७ लाख २५ हजार ८ सय रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय तोकेको थियो । जिल्ला अदालतको फैसला विरुद्ध थापाले उच्च अदालत पाटनमा पुनरावेदन गरेकोमा उच्चले पनि जिल्लाकै फैसला सदर गरिसकेको छ । तर, उनले सजाय कटाएका छैनन् ।
अध्यक्षमा उम्मेद्वारी दिएका थापासहितको मिलेमतोमा गिरोहले सुवेदीलाई पेप्सी मोवाइल ड्र अर्गनाइजेसन युकेबाट ५ लाख पाउण्ड अवार्ड प्राप्त हुने लोभ देखाएर ठगी गरेको अदालतको ठहर छ । उनले एलेक्स जे मार्कस नामका व्यक्तिमार्फत फोन र म्यासेज पठाएर सुवेदीलाई अवार्ड प्राप्त गर्न सो रकम हुण्डीमार्फत पठाउन भनेका थिए ।
सुवेदीले हुण्डीमार्फत रकम पठाउन अस्वीकार गर्दा मार्कसले नेपालमा सुर्यज्योति इन्भेष्टमेन्ट कम्पनी आफ्नो एजेन्ट रहेको भन्दै कम्पनीको एसबीआई बैंकमा रहेको खातामा रकम पठाउन भनेपछि पटक–पटक गरी सुवेदीले ७ लाख २५ हजार ८ सय रुपैयाँ जम्मा गरेकी थिइन् । सुवेदीले कम्पनीको एसबीआई बैंक बौद्ध शाखामा रहेको खाता नम्बर २०५३५२४०१०००१३ मा सो रकम जम्मा गरेकी थिइन् ।
अदालतका अनुसार सूर्यज्योति इन्भेष्टमेन्ट कम्पनी थापाको एकल स्वामित्वको कम्पनी भएको र उक्त रकम थापाले नै निकालेको पुष्टि भएकाले उनीमाथिको आरोप प्रमाणित भएको हो । सो मुद्दामा अवार्ड प्राप्त हुने भनि सुवेदीलाई झुक्याई थापाले रकम लिएको प्रमाणित भएकाले उनलाई मुलुकी ऐन ठगी महलको १ र ४ बमोजिमको अपराध गरेको कारण उक्त सजाय सुनाइएको अदालतको ठहर छ ।
सुवेदीका अनुसार अवार्ड प्राप्त भएको भन्दै फोन गर्ने मार्कसले थप रकमसमेत माग गरेपछि थाइन्दा होम्ताङको नाममा रहेको आयुषा इन्टरनेशनल न्यूरोड पोखराको नाममा पनि ९ लाख ८६ हजार रुपैयाँसमेत जम्मा गरेकी थिइन् । अवार्डको लोभमा १७ लाख ११ हजार ८ सय रुपैयाँ जम्मा गरेपछि पनि गिरोहले थप रकम माग गरेपछि उनले बल्ल ठगिएको थाहा पाइन् । र, प्रहरीमा उजुरी दिएकी थिइन् ।
मुद्दामा आरोपी थापाले भने ‘भारतको मेघालयमा बसोबास गर्ने जयराज सिंह नामका व्यक्तिले फोन गरेर कोइला बिक्री वापतको रकम तपाइँको खातामा जम्मा भएको छ निकालेर दिनुहोला भनेकोले उक्त रकम निकालेर सिंहले भनेका व्यक्तिलाई दिएको’ बयान दिएका थिए । ठगीमा आफ्नो संलग्नता नरहेको उनको दाबीलाई अदालतले भने अस्वीकार गरेको थियो । थापाकी पत्नी सिली राई थापाले समेत एसबीआई बैंकबाट सो रकम निकालेर श्रीमानले आफूलाई राख्न दिएर सोलुखुम्बु गएको बयान अदालतमा दिएकी थिइन् । सोलुखुम्बुबाट श्रीमानले फोन गरेर आफूले पठाएको व्यक्तिलाई रकम दिनु भनेपछि नामथर थाहा नभएका अपरिचित पुरुषलाई सो रकम बयान उनले अदालतमा दिएकी थिइन् ।
ठगी मुद्दामा जिल्ला अदालतले गरेको फैसलाविरुद्ध प्रतिवादी थापाले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालत पाटनका न्यायाधीशद्वय केशवराज जोशी र कृष्णलाल भट्टराईको संयुक्त इजलासले २०७५ मंसिर १० गते जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । त्यसपछि थापा उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चमा मुद्दा विचाराधिन रहेकै बेला उनी गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका हुन् ।