विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी परेको जानकारी दिएका हुन् ।
निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको तथ्यांक अनुसार नगरपालिका प्रमुखमा ३ हजार ५१०, गाउँपालिका अध्यक्षमा ३ हजार ३८७, नगरपालिका उपप्रमुखमा २ हजार १६८ र गाउँपालिका उपाध्यक्षमा २ हजार ४०१ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, वडाअध्यक्षमा ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र खुल्ला सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु गरि ३५ हजार २२१ पदको लागि आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन लिएको थियो । देशभर ७५३ पालिका प्रमुख, सोही संख्यामा उपप्रमुख, ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य र ६ हजार ७४३ दलित सदस्य तथा १३ हजार ४८३ सदस्यका लागि निर्वाचन हुँदैछ ।
केही पालिका प्रमुख, वडाअध्यक्ष तथा सदस्यका लागि एकल मनोनयन परेकाले उनीहरु निर्विरोध निर्वाचित भएका छन् । त्यसको घोषणा भने आयोगले गरिसकेको छैन । आज आयोगले उम्मेदवारमाथि परेको दावी विरोधको छानविनपछिको उम्मेदवार सुची सार्वजनिक गर्दैछ ।
वैशाख १६ गते उम्मेदवार फिर्ता लिने तालिका छ । त्यसपछि मात्र अन्तिम उम्मेदवारको सुची सार्वजनिक हुनेछ ।