

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका विरुद्ध परेको उजुरीमाथिको जाँचबुझ सुरु भएको छ । उम्मेदवारविरुद्ध उजुरी गर्ने समय मङ्गलबार लाई छुट्टाइएको थियो । मङ्गलबार बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।
परेका उजुरीमाथि जाँचबुझ गर्ने समय निर्वाचन आयोगले आज (बुधवार) र भोलि (बिहीबार)लाई छुट्टाएको छ । आयोगले मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय लिने छ ।
आयोगको तालिका अनुसार भोलि (बिहीबार) साँझ ६ बजे मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशन हुने छ । आगामी शुक्रवार अर्थात् १६ गते साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
त्यही दिन साँझ आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ । शनिवार अर्थात् १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको तयारी छ ।
यसै गरी विराटनगरमा महानगरपालिकामा ४ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा निरौला कार्की सहित ४ जना विरुद्ध उजुरी परेको हो । अन्य तिन जना भने वडा सदस्य पदका उम्मेदवार रहेका छन् । कार्की भने कोसी अस्पताल सञ्चालक समितिको सदस्य भएको भन्दै जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी गरेका हुन । उजुरी गरेपछि उनले हतपत राजीनामा बुझाएकी हुन् ।
कार्कीले मङ्गलवार राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलले बताए । उनले बुझाएको राजीनामा पत्र तोक लगाएर दर्ता समेत नगरी राखिएको उनले बताए ।
नेकपा एमालेका नेताहरूले भने फागुनमा राजीनामा दिएको भनेर दर्तामा मिलाउन दबाब दिएको कोसी अस्पतालकै एक कर्मचारीले आफ्नो नाम नभन्ने शर्तमा बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि छानबिन थालिएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले शिल्पासहित ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको बताए । नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले चुनावमा उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था छ । उनले सेवा सुविधा समेत लिने गरेको खुलेको छ ।