विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखको लागि नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपप्रमुखमा शिल्पा निरला कार्कीलाई उठाएको छ ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले थापालाई महानगरप्रमुख र कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बुवा चन्द्रबहादुर र आमा कमला थापाको कोखबाट २०३३ साउन ३ गते सागर थापाको जन्म भएको हो । विराटनगर – ४ जामुनगाछी घर भएका थापा स्कुले जीवनदेखि नै विद्यार्थीको हक हितको आवाज उठाउँदै अनेरास्ववियुमा आबद्ध भएका थिए । उनीको राजनैतिक यात्रा विद्यार्थीबाट भएको हो । २०४६ सालबाट विद्यार्थीबाट राजनैतिक आरम्भ गरेका हुन् । स्नातकोत्तर गरेका थापा दुई पटक स्ववियू सभापति भए । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा २०५७ देखि ०६० र २०६० देखि २०६२ सम्म स्ववियू सभापति भए ।
विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय थापा विद्यार्थी कालदेखि नै जुझारु कार्यकर्ताको पहिचान बनाएका थिए । नेकपा एमाले महानगर कमिटी इन्चार्ज हुँदै संयोजक र अध्यक्ष भई लगातार १२ वर्षदेखि विराटनगर महानगरको नेतृत्व थापाले गरेका छन् । शाही शासन कालमा आन्दोलन गरिरहँदा पक्राउ परि २८ दिन जेल जीवन पनि उनले बिताएका थिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि महानगर प्रमुखको उम्मेदवार बन्ने दौडमा रहेकै अवस्थामा एमालेले थापाको नाम हटाएर विनोद ढकाललाई महानगर प्रमुखको उम्मेदवार बनाएको थियो । २०७४ सालमा ढकाल काँग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए । यस पटक भने विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै थापाले टिकट पाउन सफल भएका हुन् । उपप्रमुख उम्मेदवार कार्की फेशन डिजाइन पनि हुन् ।
बुवा स्व. गोपाल बहादुर निरला र आमा रीता निरलाको कोखबाट २०३५ मंसिर १४ गते लहान शिल्पाको जन्म भएको हो । फेशन डिजाइनर समेत रहेकी शिल्पा २०६० सालदेखि राजनैतिकमा आबद्ध भएकी हुन् । उनले विवाह गरेपछि राजनैतिकमा होमिएकी हुन् । उनी नेकपा एमाले विराटनगर महानगरको उपाध्यक्ष रहेकी छिन् । फेसन डिजाइनमा डिप्लोमा गरेकी शिल्पाको विराटनगर ९ मेनरोडमो क्रिएभिड ह्यान्डल बुटिक रहेको छ । उनले अङ्ग्रेजीमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् ।
यस पटकको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट महानगर प्रमुख काँग्रेस र उपप्रमुख जसपाको भागमा परेको छ । काँग्रेसले सोमबार बिहान सम्म विराटनगर महानगरको प्रमुखको उम्मेदवारी टुङ्गो लगाइसकेको छैन ।
कांग्रेसबाट नागेश कोइराला, भीम पराजुली र अमृत अर्याल मेयरको प्रमुख दाबेदार छन् । गठबन्धनमा रहेका दलहरूले भागबन्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो ।
जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयरमा अघि सार्ने तयारी गरेको छ ।