विराटनगर । विराटनगर–६ का ध्रुवकुमार विश्वकर्मा बिहान–बेलुकाको छाक टार्न सिटीरिक्सा चलाउँछन् । उनलाई आफ्नो र परिवारको चिन्ता जति छ, राजनीतिमा हराउँदै गएको नैतिकताको त्यत्तिकै चिन्ता छ । राजनीतिमा ‘नैतिकता’ स्थापित गर्ने लक्ष्यसहित यी मजदुरले विराटनगर महानगरमा वडाध्यक्षको उम्मेद्वारी दिएका छन् ।
‘अहिलेका जनप्रतिनिधिको व्यवहारबाट जनता दिक्क भइसके,’ मनोनयन दर्तापछि उनले भने, ‘जनताका काम कसरी गर्नुपर्छ भन्ने सिकाउन उम्मेदवारी दिएको हुँ ।’ अचेल घुस नभई कसैले काम नगर्ने उनी बताउँछन् । ‘लोकतन्त्र भन्छन् खाली छाडातन्त्र मात्र हुन्छ,’ उनी भन्छन्, ‘हामीजस्ता पहुँच नहुनेले एउटा काम गर्न पाँच दिनसम्म कार्यालयमा जानुपर्छ ।’ दुःखी र गरीबको सेवा गर्न आफूले उम्मेदवारी दिएको उनले बताए ।
विश्वकर्मा विराटनगरको मंगलुबाबा टोलमा बस्छन् । साथीहरूले पनि सरसल्लाह गरेर उम्मेदवारी दिन भनेपछि वडाध्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछन् । पहिले उनी कांग्रेस र त्यसपछि माओवादीमा सक्रिय भएर लागेका थिए । विश्वकर्मा २०७१ देखि भने सवारीसाधन चलाउने गरेका थिए । आफैं लागेका पार्टीका नेताहरूको व्यवहार देखेर दिक्क लागेको उनी बताउँछन् । त्यसपछि स्वतन्त्र भएर बसेको उनको भनाइ छ । उनी वन विभागमा १२ वर्ष जागिर गरेका थिए । ‘रिटायर्ड’ भएपछि उनी पार्टीको राजनीतिमा लागे । तर, नेता र तिनका व्यवहार राम्रो नलागेको उनी बताउँछन् । ‘बुझ्दै गएपछि धेरैले जनताका काम नगर्ने रहेछन्, आफ्नै फाइदा हेर्ने रहेछन्,’ उनी भन्छन्, ‘त्यसलाई अब चिर्नुछ । सानै ठाउँबाट सकेको योगदान गर्नेछु ।’