विराटनगर । नेकपा एमाले प्रदेश १ का दुई जना सांसदले स्थानीय चुनाव लड्न प्रदेशसभाबाट राजीनामा गरेका छन् ।
झापाका एमाले सांसद गोपाल बुढाथोकी र इलामका सांसद काजीमान कागतेले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।
झापाका बुढाथोकी मेचीनगरको नगर प्रमुखमा उठ्ने निश्चित भएको छ । झापा १ को निर्वाचन क्षेत्र नम्बर ख बाट निर्वाचित बुढाथोकी अघिल्लोपटक पनि मेयरको दाबेदार थिए । उनले टिकट नपाएपछि उनलाई एमालेले प्रदेशमा पठाएको थियो । २०७४ मा मेचीनगरमा काँग्रेसका विमल आचार्य मेयरमा निर्वाचित भएका थिए ।
त्यसैगरी इलामका कागतेले पनि सूर्योदय नगरको मेयरमा टिकट पाएपछि राजीनामा दिएका हुन् । इलाम १ को निर्वाचन क्षेत्र नम्बर ख बाट निर्वाचित कागते एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रका एमाले नेता हुन् । सूर्योदयमा यसअघि पनि एमालेले जितेको थियो । त्यहाँका मेयर रणबहादुर राई समाजवादीबाट गठबन्धनको उम्मेद्वार हुने सम्भावना छ ।