

विराटनगर । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले घोषणा पत्रमा उल्लेख गरेका ८० प्रतिशत काम पुरा गरेको दाबी गरेका छन् ।
पाँच वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै मेयर ढकालले चुनावमा गरिएका घोषणापत्रका ६४ बुँदामध्ये ४९ बुँदा कार्यान्वयनमा आएको बताएका छन् । उनले घोषणा पत्रमा उल्लेख गरिएका केही काम भने कानुन अभाव र माथिल्ला सरकारको असहयोगका कारणले गर्न नसकिएको समेत बताएका छन् ।
जनप्रतिनिधि आएपछि ३५ बेड क्षमताको नगर अस्पताल सञ्चालन हुनु, ४ वटा वडा कार्यालयको भवन निर्माण हुनु, ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनु, प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुनु, १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रलाई ५० बिघा जग्गा उपलब्ध गराई तालीम केन्द्र निर्माणका लागि पहल गर्नुलाई महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठ गाउँमा ल्याउन समन्वय गर्नु, सुविधा सम्पन्न कृषि बजार भवन निर्माणका लागि शिलान्यास हुनु, कोल्ड स्टोर भवन निर्माणका लागि शिलान्यास हुनु, इन्द्रपुर रंगशाला निर्माणका लागि डीपीआर निर्माण भई पूर्वाधार निर्माणको काम भइरहेको , सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याइएको समेत उनले बताएका छन् ।
पछिल्लो ५ वर्षको अवधिमा १७७ किलोमिटर बाटोमा पेवल्स बिछ्याउने वा कालोपत्रे गर्ने काम भएको, १५३ किलोमिटर सडक एजिङ भएको तथा १३ किलोमिटर पक्की ड्रेन निर्माण गरेको ढकालले बताए ।
१ लाख ७७ हजार २ सय ४२ डोज कोभिडविरुद्धको खोप नगरवासीलाई लगाएको उपलब्धिमा उल्लेख गरिएको छ । कोरोना सङ्क्रमित बिरामीहरूलाई घर घरमै पुगेर औषधि उपचार वितरण गरेको समेत उल्लेख गरिएको छ ।
अक्सिजनको अभाव हुन नदिनु, अस्पताल भर्नामा समन्वय गरी औषधि पचारमा कमी हुन नदिनुनै जनप्रतिनिधिको महत्त्वपूर्ण काम भएको ढकालको भनाइ रहेको छ ।
सुन्दरहरैचाको विकास हुनमा स्थानीय राजनीतिक दलको महत्त्वपूर्ण भूमिका भएको उनले बताएका छन् ।