अमेरिकी सांसदहरूले गरे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

विराटनगर । नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिवार शिष्टाचार भेट गरेको छ ।सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालअमेरिका मैत्री, दुवै देशका सरकार एवं संसद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवर्द्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयहरुमा छलफल भएको थियो ।

आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि उक्त प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका बेला दुवै पक्षले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए ।

दुवै पक्षबीच नेपाल–अमेरिका मैत्री दुई पक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका मुद्दाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

आगामी सोमवार नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ ।

शनिबार, १० बैशाख, २०७९, दिउँसोको ०३:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर