चुनाव लड्न महानगरका १४ जनप्रतिनिधिले दिए राजीनामा

बेरुजु देखिएपछि वडाध्यक्ष आचार्यको राजीनामा सनाखत भएन

विराटनगर । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थालाई सदर गरेपछि विराटनगर महानगरपालिकाका १४ जना जनप्रतिनिधिहरुले बिहीबार पदबाट राजीनामा दिएका छन् ।

महानगरको वडा नं. ५, १०, ११, १४ र १९ नम्बर वाार्डका वडाध्यक्ष तथा सदस्यहरुले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिएका १४ जनप्रतिनिधिमध्ये विराटनगर ५ का वडाध्यक्ष मिनकुमार आचार्य बाहेक १३ जना जनप्रतिनिधिहरुको राजीनामा सनाखत भइसकेको छ ।

महानगरपालिकामा बेरुजु देखिएको र बेरुजु फस्र्यौट नभएका कारण आचार्यले बुझाएको राजीनामा बिहीबार सनाखत हुन सकेन । विकास निर्माणको कार्यमा जनप्रतिनिधिहरुले लिएको पेश्की फरफारक नहुँदा महालेखा परीक्षणको प्रतिवेदनमै त्यस्ता बेरुजुहरु अधिक रहेको भन्दै असुल गर्न निर्देशन दिइएको थियो ।

विराटनगर ५ का वडाध्यक्ष आचार्यसहित वडा सदस्य केवल राय अमात, दलित महिला सदस्य राधादेवी पासवान र महिला वडासदस्य बिनादेवी धानुकले राजिनामा दिएका थिए । वडाध्यक्ष आचार्यबाहेक सबैको राजिनामा सनाखत भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । ‘आज वडा नम्बर ५ सहित पाँच वटा वडाका वडाध्यक्ष र नौं जना सदस्यहरुले राजीनामा दिनुभयो, पेश्की फरफारक सम्बन्धी विषय मिल्न बाँकी रहेकोले वडा नं. ५ का अध्यक्षबाहेक सबैको राजिनामा सनाखत भएको छ ।’

वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राखेर पदबाट राजीनामा दिनेमा विराटनगर १० का वडाध्यक्ष, माधवराज वाग्ले, १० कै वडा सदस्य बिजय दाहाल, वडा नम्बर ११ का अध्यक्ष तिर्थेन्द्र नेउपाने, वडा नम्बर १४ का अध्यक्ष बलदेव यादव, १४ कै सदस्य राजनन्द महतो र वडा नं. १९ का अध्यक्षसहित पाँचै जना छन् । अध्यक्ष बद्रीनारायण सरदार, सदस्य सम्झना भुजेल, बिनादेवी सरदार, जितेन्द्र खवास र नागेश्वर राजवंशीले राजिनामा दिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

 

बिहिबार, ०८ बैशाख, २०७९, साँझको ०७:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर