लीलावल्लभ घिमिरे
प्रेस चौतारी नेताका मोरङ अध्यक्ष सुदीप कोइराला भाइले विराटनगरको एक होटलमा एमालेका स्थायी समिति सदस्य तथा प्रदेशका पूर्वमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान चियापानका लागि निम्तो गरेको खबर गरे । केही ढिलो गरी म होटलमा पुग्दा हिक्मत दाईसँग विराटनगरका पत्रकार मित्र गोकुल पराजुली जमेर कुरा गरिरहनु भएको थियो । बाँकी साथीहरु स्रोताजस्तै । म पनि गएर एकैछिन स्रोता बने । दुई जनाका गफ स्थानीय तहको चुनावलक्षित थियो । हिक्मत दाईको दावी थियो, हामीलाई धेरै बलियो देखेर अरु दुब्लाहरु एक भएर भिड्न आउँदैछन् । तर, गोकुलजी त्यो कुरा मान्न तयार हुनुहुन्नथियो । दुई जनाको गफ सुन्दा एक पत्रकार र एक नेताभन्दा पनि फरक दलका दुई नेताबीचको बहस जस्तो लाग्थ्यो । निकैबेर त्यहाँ दुईबीच छेडाछाड चल्यो । निम्ता पाएका विराटनगरका अरु पत्रकारहरु आउने क्रम बाक्लिदै गयो । हामीहरुले पनि दुई जनाबीचको गफलाई घान लगाउने काम गरियो ।
भित्र रेष्टुरेन्टमा खाजा खान बस्दा पनि दुबै जना एउटै टेबलमा पर्नुभएछ । त्यहाँ पनि बहस चल्यो । हिक्मत दाइको जिकिर एमाले बलियो छ भन्ने र गोकुलजीको जिकिर गठबन्धनले हराउँछ भन्ने । प्रदेश १ का धेरै पालिकाहरुको हारजितका बारेमा चर्चा भयो । तर, दुबैको तर्क भने एउटै खालको थियो । हिक्मत दाई प्रदेश १ का जुन पालिकाको नाम लिएपनि एमालेले जित्ने दावी गर्ने, गोकुलजी जुन पालिकाको नाम लिएपनि एमालेले हार्नसक्ने तर्क राख्ने ।
मैले गोकुलजीलाई भने माओवादीले चाँही किन अहिलेसम्म एक्लै चुनाव नलढेको रहेछ ? कहिले एमालेसँग पछि लाग्ने, कहिले कांग्रेससँग ? गोकुलजी पड्कन लाग्नुभयो, ‘तपाईहरुलाई थाहा होस्, माओवादी कांग्रेसको पछि हैन, कांग्रेस माओवादीको पछि लागेर सत्तामा पुगेको छ । यो एजेण्डा हाम्रो हो, यो जित हाम्रो हो । पासा मात्र कांग्रेसको परेको हो ।’ गोकुल जी रिसाउँला जस्तो गर्नुभयो । आफू चाँही गठबन्धन गरेर अध्यक्ष बन्ने अनि अहिले गठबन्धन चाहिदैन भन्ने यो कुरा मिलेन भन्ने गोकुलजीको तर्क थियो । मैले त्यहाँ धेरै विवाद गरिन । आजभोलि माओवादी साथीहरुसँग धेरै तर्क गर्न हुदैन । उहाँहरुले फेरि गठबन्धन विरोधी कित्तामा उभ्याइदिनुहुन्छ । जसले माओवादीसँग तर्क ग¥यो, त्यसको नाम शेखर कोइराला समूहमा दर्ज हुन्छ ।
आजभोलि माओवादीसँग तर्क गर्ने त के कड्के नजरले हेर्ने हिम्मत कुनै कांग्रेसीजनमा छैन । यदि आँखा कड्कीहालो भनेपनि गठबन्धन विरोधी होइन्छ । अनी पाउन लागेको वडाअध्यक्षको टिकट पनि जयनेपाल हुन्छ । कांग्रेसीजनहरु अहिले विकेकशुन्य बनेका छन् । उनीहरुको एउटै मिसन छ । गठबन्धन जोगाउँ । यो गठबन्धन कहिलेसम्म, कसरी र कसका लागि जोगाउनुपर्ने हो ? कांग्रेसीजनसँग यसको उत्तर छैन । तर, विचराहरु अहिले मुखमा पानी हालेर बसेका छन् । चितवनले गठबन्धनको पीडा भोगिसकेको छ । त्यहाँका कांग्रेसीजनहरु बोल्न डराउन छोडेका छन् । उनीहरुलाई कसैले कित्ताकाट गरेपनि चिन्ता छैन । दश वर्षसम्म कांग्रेस बन्न नपाउनुभन्दा स्वातन्त्र बस्नु बेस भनेर पार्टीको साधारण सदस्यवाट राजिनामा आउन थालेको छ । कुनै समय यस्तो पनि आउँदो रहेछ, पार्टीमा विद्रोह गरेर पार्टी बचाउनुपर्ने । चितवन अहिले त्यो बाध्यतामा पुगेजस्तो छ ।
हाम्रो चियागफमा नेता र पत्रकारबीचको जुहारी चलिरहेको थियो । सायद आफू पत्रकार महासंघ प्रदेशको अध्यक्ष भएकाले होला बेलाबेला गोकुलजी पत्रकार कम नेता बढि पो हुनुभयो कि भन्ने चिन्ताले झस्काइरह्यो । तर, एक मनले सोचे गोकुलजीले त एउटा पक्ष लिएर बहस मात्र गरिहनु भएको छ । यहाँ त धेरै पत्रकार स्थानीय तहमा उम्मेदवार बन्नका लागि टोल कमिटीदेखि जिल्ला कमिटीसम्म आफ्नो नाम सिफारिस गराइरहेका छन् । कतै भोलि वडाअध्यक्ष हारेर फेरि पत्रकार महासंघको जिल्ला अध्यक्षकै कुर्सीमा बस्लान कि भन्ने चिन्ता छ । ६ महिनाअघि एमाले, कांग्रेस र माओवादीका महाधिवेशन भए । धेरै साथीहरुले पार्टीका पदमा जिते, केहीले हारे । केन्द्र पुगेकाले त पत्रकारिता छोडेको सुनियो । सायद महासंघको साधारण सदस्यबाट पनि राजिनामा गरे होलान् । तर, धेरै साथीहरु आजभोलि पानीमाथिको ओभानो बनिरहेका छन् ।
नेपाली पत्रकारिता मिसन पत्रकारिताबाट सुरु भएको हो भन्ने मलाई राम्रोसँग थाहा छ । मिसन पत्रकारिताले पार्टीहरुका समाचार त बोकेको थियो, पछिल्लो समय कलमधारी पत्रकारहरु कलम छोडेर झण्डा बोक्न थालेका छन् । यसले हाम्रोे पत्रकारिताको विश्वसनीयतामाथि थप संकट आइपरेको छ ।
रेष्टुरेन्टवाट खाजा खाइसकेर हामी हलतिर लाग्यौं । बाटोमा जादा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइटेलजी र गोकुलजी मभन्दा पछाडी आइरहनु भएको थियो । दुई जनाबीच पनि तर्क चलिरहेको थियो । तर, सिँडी उक्लने क्रममा नै उहाँहरुको कुरा मिल्यो । भोलि यो देशका कम्युनिष्ट सबै एक भईहाल्छन्, हाम्रा पार्टी पनि मिल्छ । के धेरै विवाद गर्नु भन्ने दुबैको एउटै कुरा आयो ।
गोकुलजीले सानो सर्त राख्नुभयो ‘बा’ को सेखपछि सबै एकै ठाउँमा हुइन्छ । मैले मनमनै सोचे, हिजो पनि मिलेकै थिए । आजै मिले भइगो नि किन रोइलो गरेर कांग्रेसको फेर समाइरहेका होलान् ? यीनलाई कसले मिल्न रोकेको छ होला ? आज एउटासँग लभ गर्ने, भोलि अर्कैको बच्चा पाउन कस्तो सोच होला । यस्तै धेरै–धेरै प्रश्नहरु मनमा आइरहेका छन् ।
नेपालको राजनीति न त पढेरै बुझिन्छ न त विगतलाईं हेरेरै अनुमान गर्न सकिन्छ । यो गठबन्धन केका लागि कहिलेसम्मका लागि हो भन्ने उत्तर पाउन कठिन छ । चुनावमा मिलेर जाने भए किन फरक–फरक पार्टीका दोकान खोल्नु ? सबै मिलेर एउटा पार्टी बनाए भइगो नि । अन्तिममा एउटा कुरा सम्झे, विपी कोइरालाले महेन्द्र राजासँग सानो मात्र सम्झौता गरेका भए बाचुञ्जेल यो देशको प्रधानमन्त्री बन्नुहुन्थ्यो होला । तर, उहाँले जन्माएको कांग्रेस आज कुन बाटो हिँडिरहेको छ ? यसको उत्तर कस्ले दिने हो, थाहा छैन । सबैको जय होस् । जय गठबन्धन ।