काठमाडौं । आगामी निर्वाचनमा एक्लै सत्तारुढ गठबन्धनको सामना गर्ने बताउँदै आएको नेकपा एमाले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनाबी गठबन्धनको घोषणा गरेको छ । एमाले र राप्रपा नेपालबीच बुधबार चुनावी गठबन्धनको सहमति भएको हो ।
एमाले पार्टी कार्यालयमा भएको छलफलपछि एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ । राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति दुई दलबीच भएको छ ।
राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने भएको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, रउपाध्यक्ष विष्णु पौडेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा सहमति भएको हो ।