कुलमानको आग्रहपछि माओवादीले पोष्टर सच्यायो

विराटनगर । नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेकोमा उनको अनुरोधपछि सच्याएको छ ।

पार्टी अध्यक्ष प्रचण्डको फेसबुक पेजबाट बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा अध्यक्ष प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको थियो ।

प्रचण्ड प्रधानमन्त्री र शर्मा उर्जामन्त्री भएको बेला प्राधिकरणमा नियुक्त भएका घिसिङले मुलुकलाई लोडसेडिङमुक्त बनाएका थिए । उनको चार वर्षे कार्यकाल पुरा भएपछि गत वर्ष आम नागरिकले अर्को कार्यकाल थप गर्न मागसहित आन्दोलनसमेत गरेका थिए । तर, केपी ओली नेतृत्वको तत्कालिन सरकारले माओवादी नजिक भएको आरोपमा कार्यकाल थपेको थियो ।

ओली सरकार विघटन भएर नयाँ सरकार गठन भएपछि उर्जामन्त्री पम्फा भुषाालको प्रस्तावमा पुनः घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका छन् । घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई घिसिङले नाफामा लगेका थिए भने उनको कार्यकाल सकिएका अर्का कार्यकारी निर्देशक नियुक्त गरेपछि प्राधिकरण फेरि घाटामा जान थालेको थियो । घिसिङ आएपछि पुनः प्राधिकरण नाफामा छ ।

उज्यालो अभियान्ताका रुपमा चिनिने घिसिङसहितको फोटो राखेर माओवादी केन्द्रले ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको पोस्टरमार्फत लोडसेडिङ अन्त्यलाई सफलताका रूपमा चित्रण गरेको छ । साथै अब निःशुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ । उर्जामन्त्री भुषाालको प्रस्तावमा महिनामा २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकहरुलाई प्राधिकरणले निःशुल्क विद्युत उपलब्ध गराउन थालिसकेको छ ।

निर्वाचन आचारसंहिता २०७८ मा सरकारी कर्मचारीले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएकोले घिसिङले आफ्नो तस्बिर हटाउन आग्रह गरेका थिए । घिसिङको आग्रहपछि माओवादीले तस्विर सच्याएर प्रचण्डको मात्र तस्विर भएको नयाँ पोस्टर सार्वजनिक गरेको छ ।

https://www.facebook.com/photo.php?fbid=515977796559288

माओवादी अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका बेला २०७३ सालमा घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । त्यसबेला मुलुकमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा त्यसपछि लोडसेडिङमुक्त भएपछि देशभर उज्यालो अभियान्ता भन्दै तत्कालिन उर्जामन्त्री शर्मा र घिसिङको नागरिक अभिनन्दनसमेत भएको थियो ।

घिसिङले तत्कालीन प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री शर्माको निर्देशन, साथ र सहयोगले नै लोडसेडिङ अन्त्य गर्न सफल भएको बताउँदै आएका छन् । आफूले नेतृत्व सुरु गर्दा ३५ अर्ब सञ्चिति घाटामा रहेको प्राधिकरणलाई उनले कार्यकालको अन्तिम वर्षमा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकाय बनाएका थिए । उनको पालमा विद्युत् चुहावट २६ प्रतिशतबाट १५ प्रतिशतमा झरेको थियो ।

चैत्र ३०, २०७८, दिउँसोको १२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर