मोरङका तीन पालिकामा एमालेले गर्‍यो एकल नाम सिफारिस

विराटनगर । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि  नेकपा एमालेले मोरङका तीन पालिका प्रमुखका लागि सर्वसम्मत एक–एक जनाको नाम सिफारिस गरेको छ ।

दुई गाउँपालिका र एक नगरपालिकामा एमालेले सर्वसम्मत नाम सिफारिस गरेको हो । रंगेली नगरपालिकामा माओवादीबाट केही दिनअघि एमाले प्रवेश गरेका मेयर दिलीप अग्रवाललाई नै एमालेले मेयरको उम्मेदवार बनाउने भएको छ । उनी कांग्रेस, माओवादी हुँदै एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै उपमेयरमा ३ जनाको नाम सिफारिस गरिएको छ । बहालवाला उपमेयर केशवकुमारी खराल, उषा झा र भूमा पराजुलीको नाम सिफारिस भएको एमाले रंगेली नगर कमिटीले जनाएको छ ।

मेयर अग्रवाल र उपमेयर खराल दुवै अघिल्लो चुनावमा माओवादीबाट विजयी भएका हुन् । उनीहरूलाई केही दिन अघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए । गत स्थानिय तहको चुनावमा रंगेलिमा एमालेले तेस्रो मत ल्याएको थियो । दोस्रो मत भने कांग्रेसको रहेको थियो ।

यस्तै धनपालथान गाउँपालिकाको प्रमुखमा मुसहरु मण्डलको नाम मात्रै सिफारिस भएको छ । उपाध्यक्षमा भने करणदेवी चौधरी, उपासी देवी राजवशी, सीता पाठक, विमला विष्ट, राधादेवी पासवानको नाम सिफारिस गरिएको एमाले गाउँ कमिटीले जनाएको छ ।

जहदा गाउँपालिकामा अध्यक्ष उपाध्यक्षमा एक–एक जनाको नाम सिफारिस गरिएको छ । अध्यक्षमा कृष्ण गिरी र उपाध्यक्षमा अनिता सोरेनको नाम सिफारिस गरिएको हो ।

उपाध्यक्षमा सिफारिस भएकी सोरेन अघिल्लो चुनावमा कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार बनेकी थिइन् । जहदाँमा अध्यक्ष–उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको थियो । गत चुनावमा जहदाँमा एमाले चौथो स्थानमा रहेको थियो । दोस्रोमत कांग्रेसले ल्याएको थियो भने तेस्रो मत माओवादीको थियो ।

चैत्र २९, २०७८, दिउँसोको ०३:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर