निर्वाचनको रकेट रोक्नखोजे दुर्घटना हुन्छः थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकोले त्यसलाई रोक्न खोजे दुर्घटना हुने बताएका छन् ।

निर्वाचन आयोगले मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुको लागि आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा थपलियाले निर्वाचनको काम धेरै अगाडि बढिसकेकोले अब रोकिने वा सर्ने संभावना नरहेको दावी गरे ।

‘निर्वाचनको काम बस वा प्लेनको गतिमा हैन, रकेट प्रक्षेपण भएझै अगाडि बढेको छ’ उनले भने, ‘अब त्यसलाई रोक्ने प्रयास भनेको दुर्घटना निम्त्याउनु हो, दुर्घटना निम्त्याउने अवस्थामा आयोग छैन ।’ आयोगले अहिलेसम्म ३० जिल्लाको मतपत्र छापिसकेको र निर्वाचन अधिकृतहरु नियुक्त गरेर कार्यालय स्थापनाको चरणमा रहेको बताउँदै उनले अब वैशाख ३० गते निर्वाचन नभए लोकतन्त्र हार्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले निर्वाचनमा ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति निर्वाचन आचार संहिताविपरित भएकाले स्पष्टिकरण सोधिएको बताउँदै थपलियाले जवाफ आएपछि आयोगले त्यसबारे निर्णय गर्ने जानकारी दिए । कोइरालाले २० लाख ७५ हजार मात्रै खर्च गरेको हस्ताक्षरसहितको जानकारी आयोगमा दिएकोले हस्ताक्षरसहित दिएको जानकारी सहि हो कि अहिलेको बोलेको कुरा सहि हो भनेर सोधिएको उनको भनाइ छ ।

तीन एम अर्थात मनी, मसल्स र मिडिया प्रयोग गरेर निर्वाचन जित्न सकिने भ्रम रहेको बताउँदै आयोगले आचारसंहिताले त्यसलाई रोक्ने प्रयास गरेको उल्लेख गरे । सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित पार्ने भ्रामक, तथ्यहीन सूचना र अपमानजनक गतिविधि नियमन गर्ने संरचनासमेत क्रियाशील रहेको उनको भनाइ छ ।
निर्वाचनको समयमा मिडियाबाट पनि भ्रामक कुरा आउनसक्ने भएकोले पत्रकारहरूले तथ्यमा रहेर समाचार लेखिदिनुपर्ने थपलियाको भनाई छ । निर्वाचनप्रति जनविश्वास घटाउने ओखिम रहेको र धमिलो पानीमा माछा मार्न सकिन्छ भन्ने प्रवृत्ति बढेकोले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितब्ययी निर्वाचन गराउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार र मिडियाहरूले अघिपछिको समयमा भन्दा निर्वाचनको बेलामा आचारसंहिता पालनामा सचेत हुनुपर्ने बताए ।

चैत्र २९, २०७८, दिउँसोको १२:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर