काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको बताएका छन ।
समाजवादी प्रेस संगठनले सोमवार कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने धरणा सार्वजनिक गरेका छन ।
नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताएका हुन् ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ ।
एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ ।
उनले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे ।
नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दल बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ ।