विराटनगर महानगरले २० हजार परिवारलाई राहत दिने

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरका दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खाद्यान्न राहत बितरणको तयारी गरेको छ ।

कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको कारण काम बन्द भएपछि समस्यामा परेका मजदुरलाई ‘विराटनगर महानगरपालिका विपत् कोष’ बाट राहतको वितरणको तयारी भएको हो ।

महानगरका प्रमुख भीम पराजुलीका अनुसार विपत् कोषमा महानगरपालिकाले १ करोड रुपैयाँ जम्मा गरेको छ। जसमा प्रमुख पराजुलीले १ वर्षको आफ्नो तलब ५ लाख ४० हजार रुपैयाँ थप गर्नुभएको छ। त्यस्तै महानगरभरका जनप्रतिनिधिको १ महिनाको तलब ११ लाख र अधिकृतभन्दा माथिका कर्मचारीको ७ दिनको, खरदारभन्दा माथिका कर्मचारीको ५ दिनको र त्यसभन्दा तलका कर्मचारीको ३ दिनको तलब कोषमा जम्मा गर्दा थप १३ लाख थप हुनेछ ।

कोसबाट राहत बितरण गर्न दैनिक ज्यालादारीमा काम गरिरहेका महानगर क्षेत्रभित्रका मजदुरका घरपरिवारको लगत संकलन गर्ने काम भइरहेको छ। महानगरले २० हजार घरपरिवारका १ लाख जनसंख्यालाई राहतको खाद्यान्न वितरण गर्नुपर्ने प्रारम्भिक अनुमान गतेको छ ।

लगत संकलन सकेपछी बिहीवारदेखि राहत बितरण हुनेछ । पहिलो चरणमा १२ किलोग्राम चामल, २ किलोग्राम दाल, ३ किलोग्राम आलु, २ किलोग्राम चिउरा, १ किलोग्राम नुन र आधा लिटर तेल वितरण गर्ने पराजुलीले जानकारी दिनुभयो ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका घरमा छिटोभन्दा छिटो खाद्य सामग्री पुगोस् भन्ने लक्ष्यका साथ काम गरिरहेको महानगरले जनाएको छ ।
महानगरले चामल, दाल, तेल र चिउरा स्थानीय उद्योगहरूबाट कारखाना मूल्यमै खरिद गर्न मंगलवार उद्योगीहरूको बैठक बोलाएको छ ।

प्रमुख पराजुलीले विपत् कोषमा आवश्यकता अनुसार रकम वृद्धि गर्दै लैजाने र लकडाउनभर खाद्यान्न वितरणलाई निरन्तरता दिने जानकारी दिनुभएको छ ।

सोमबार, १७ चैत, २०७६, रातीको १०:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर