

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको लागि आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस भएको छ ।
आइतबार बसेको एमाले उपमहानगर कमिटिको बैठकले नगरप्रमुख द्वारिकलाल चौधरी, उप्रपमुख तथा केन्द्रीय सदस्य लक्ष्मी गौतमको नाम मेयरको लागि सिफारिस गर्ने निश्चित गरेको छ । यस्तै, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, जिल्ला सदस्य रेवती घिमिरे र बन्नुलाल चौधरीको पनि नाम सिफारिस भएको छ ।
उपमेयरमा भने ९ जनाको नाम सिफारिस भएको छ । अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस भएको छ । एमाले नगर अध्यक्ष सुब्बाले बैठकमा छलफल भएपनि सिफारिस गरिने नामहरु सोमबारको बैठकबाट जिल्लामा पठाउने बताएका छन् ।
उपमहानगर कमिटिले सिफारिस गरेको नाम जिल्ला कमिटीबाट प्रदेश कमिटी हुदै केन्द्रीय कमिटीमा पुगेर निर्णय हुनेछ । जिल्ला र प्रदेश कमिटीले आवश्यकताको आधारमा नाम काँटछाँट गर्न सक्ने बताइएको छ ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार द्वारिकलाल चौधरीले २२ हजार ६८९ मत प्राप्त गरेर विजयी बनेका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार रोहितप्रसाद प्रसाईंले १९ हजार ९८५ मत प्राप्त गरेका थिए भने राप्रपाका उम्मेद्वार रोहितबहादुर कार्कीले ३ हजार ७१५ तथा माओवादी केन्द्रकी उम्मेद्वार हरिमाया जिमीले ३ हजार ३६४ मत प्राप्त गरेकी थिइन् ।
उपप्रमुख पदमा पनि एमालेकै लक्ष्मी गौतमले २१ हजार ८४२ मतका साथ विजयी बनेकी थिएन् । दोस्रो स्थानमा रहेको कांग्रेसकी उम्मेद्वार विमला सिवाकोटीले १८ हजार ३५२ र माओवादी केन्द्रका भीमप्रसाद सुवेदीले ४ हजार ८३१ तथा राप्रपाकी माया रायमाझीले ३ हजार ९१९ मत प्राप्त गरेकी थिइन् ।