धरान । सुनसरीको धरान उपमहानगरपालिकामा आकांंक्षी धेरै भएकोले नेकपा एमालेको उपमहानगर कमिटिले मेयरको लागि ११ जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस हुनेहरुमध्ये पहिलो नम्बरमा हालका उपमेयर मञ्जु भण्डारी र दोस्रो नम्बरमा पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको नाम उल्लेख छ । नेताहरुका अनुसार उनीहरु दुईमध्ये एक जनाले टिकट पाउने संभावना धेरै छ ।
धरान एमाले अध्यक्ष हर्कजंग एभेङका अनुसार १ केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्वजिल्ला सदस्यको नाम मेयरको लागि सिफारिस भएको हो । जसमा केन्द्रीय सदस्यसमेत रहेकी उपमेयर भण्डारी, प्रदेश सदस्यहरु मेन्याङ्बो, प्रदेश सदस्यहरु विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई र किशोरकुमार कार्की, जिल्ला सदस्यहरू मिन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला र पूर्वजिल्ला समिति सदस्य तिर्थ मास्के रहेका छन् ।
एमाले धरान नगरसमितिले उपमेयरका लागि पनि ६ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेश समिति सदस्य शुसिला पहाडी, लहरु जिमी, जिल्ला सदस्यहरू पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई रहेका छन् ।
एमाले स्रोतका अनुसार सिफारिस नाममध्ये प्रमुखमा भण्डारीले टिकट पाउने सम्भावना बढी छ भने उपमेयरमा पदम इस्व लिम्बूले पाउने सम्भावना छ । लिम्बू १० बुँदे पक्षधर हुन् । सो समूहलाई समेट्नकै लागि अन्य सबै उपमेयरमा महिलाको नाम सिफारिस गर्दा लिम्बू भने पुरुष रहेका छन् ।
धरान उपमहानगरपालिका पूर्वको महत्वपूर्ण र ठूलो पालिकामध्ये एक हो । धरान उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा नेकपा (एमालेबाट प्रमुखका उम्मेद्वार तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएका थिए । प्रमुखमा जितेका सुब्बाले त्यसबेला २० हजार ९ सय ७५ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका तिलक राईले १६ हजार १ सय २ र तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए ।
प्रमुख सुब्बाको निधन भएपछि खाली भएको उपनिर्वाचनमा भने कांग्रेसका तिलक राईले परिणाम उल्ट्याउँदै एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार प्रकाश राईलाई झण्डै ३ हजार मतले पराजित गरेका थिए । उपनिर्वाचनमा तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका उम्मेद्वार प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका थिए ।
धरानका धरानको २० वडामध्ये एमाले एक्लैले १४ वटा जितेको थियो भने कांग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वडा जित्न सफल भएको थियो ।