एमाले इतिहास हो, वर्तमान होइन

 विपी भट्टराई

नेकपा एकीकृत समाजवादी झापाका युवा नेता विपी भट्टराई अहिले सो दलको झापा जिल्ला कमिटी उपसचिव छन् । तत्कालीन नेकपा एमालेको मेचीनगर सचिवको जिम्मेवारी सम्हालिसकेका भट्टराई यतिबेला समाजवादीको संगठन सुदृढीकरणमा क्रियाशील छन् । स्थानीय चुनाव नजिकै आउँदै गर्दा नेकपा एकीकृत समाजवादी झापामा के गर्दैछ, कसरी चुनावी अभियानमा होमिएको छ, समाजवादीको झापाको अवस्था आदिबारे नेता भट्टराईसँग हाम्रोमतले गरेको कुराकानी प्रस्तुत छ ।

नेकपा एकीकृत समाजवादी झापामा के गर्दैछ अहिले ?

हामी संगठन निर्माणमा तीव्र रुपमा लागेका छौं । हालसम्म झापामा एक सय वटा वडा कमिटी बनिसकेका छन् । अहिले टोल कमिटी बनाउन लागिरहेका छौ । उत्साहका साथ संगठन विस्तारको काम भइरहेको छ ।

नेकपा एमालेका नेताहरु त झापामा समाजवादीको कुनै अस्तित्व छैन भनिरहेको छ त ?

हाम्रो अस्तित्व छ कि छैन भन्ने कुराको फैसला गर्ने जनता हुन्, एमाले नामको गुट होइन । एमाले नामको कम्पनीका मालिक केपी ओलीदेखि उनका दासहरु सबैले जानेको भनेकै उडाउने, उडन्ते कुरामा रमाउने हो । त्यसैले उनीहरुले के भन्छन् भन्ने कुरा पटक्कै महत्वको विषय होइन । हामी झापामा दिनप्रतिदिन बलियो बन्ने क्रममा छौं । आउँदै गरेको चुनावबाट यो तथ्य स्थापित हुनेछ । एमालेका साथीहरु हामी गठबन्धन नभए पनि एक्लै लड्न सक्षम छौ कसैको बैशाखी टेक्न जरुरी छैन भन्दै हिँड्थे । तर, केही दिनयता हामी देख्दैछौं, उहाँहरु राप्रपासँग तालमेल गर्न खोज्दै हुनुहुन्छ । यसरी आफ्नो अस्तित्व रक्षाका लागि राप्रपासामु गिडगिडाउनेहरुले अरुको अस्तित्वबारे वस्तुनिष्ठ मुल्यांकन गर्दैनन् ।

झापामा गठबन्धनबारे तयारी कसरी अघि बढिरहेको छ ?

जिल्लामा गठबन्धन दलहरुबीच निरन्तर छलफल र संवाद चलिरहेको छ । विभिन्न तहमा चलेका यी छलफलहरुले गठबन्धनलाई अझै बलियो बनाउने दिशा दिएका छन् । हामी गठबन्धनका दलहरुबीच जिल्लादेखि वडा, टोलसम्मै संयन्त्र बनाउने, छलफललाई तीव्रता दिने काम भइरहेको छ ।

गठबन्धन प्रभावकारी हुनेमा कतिको आशावादी हुनुहुन्छ ?

गठबन्धन मुलुकको आवश्यकतामा आधारित हो । यो गठबन्धनको प्रभावकारिता मुलुकको संविधान र व्यवस्थाको सुरक्षासँग जोडिएको छ । संविधान ध्वस्त पार्ने, दक्षिणपन्थी यात्रामा देशलाई अग्रसर पार्नेहरुविरुद्धको यो गठबन्धन प्रभावकारी हुनेमा कुनै शंका छैन ।

तर, गठबन्धनको सबैभन्दा ठूलो दल काँग्रेसभित्र त फरक मत धेरै देखिएको छ नि ?

काँग्रेसले केन्द्रबाटै तालमेल गर्ने निर्णय गरिसकेको सन्दर्भमा फरक मतहरुले असर नगर्ने निश्चित छ । तर, गठबन्धन र यसको आवश्यकताबारे हामीले भारतीय पाठलाई मनन गर्न जरुरी छ । सन् २०१४ पछि भारतमा सबैले मोदी समस्या हो भने बुझे अनि २०१९ मा पनि मोदी समस्या हो भन्ने निष्कर्श निकाले । तर, कन्यैह्याकुमारहरुले गठबन्धन गररे चुनाब लडांै भन्दा सबैले घमन्ड देखाए । अलग–अलग भिडे । अहिले काँग्रेसका गगन थापाहरुले जस्तै । फलस्वरूप मोदी नै आए । उनी नै बलियो बनेर देखापरे । यदि विपक्षीहरुले गठबन्धन गरेका भए मोदीबाट भारतले मुक्ति पाउन सक्थ्यो । यहाँ पनि समस्या के हो भन्ने थाहा पाएपछि त्यो समस्यालाई मिलेर हटाउने हो । त्यस्मा अनावश्यक घमन्ड गरेर अंकगणितको मात्रै जोड घटाउ गर्न थाल्यो भने परिणाम ठीक आउँदैन ।

चुनाव आउँदै गर्दा एमालेबाट अलग नभएको भए हुनेरहेछ भन्ने लाग्दैन ?

बिल्कुलै लाग्दैन । तपाइँले चुनावी हारजितको कुरालाई इंगित गर्न खोज्नुभएको हो भने हामीले एजेण्डा जितेका छौं । चुनाव पनि जित्नेछौं । खासमा अहिले एमाले भन्ने पार्टी नै छैन । तपाईं जसलाई एमाले भन्नु हुँदैछ त्यो ओली गुट मात्रै हो । २०७५ जेठ ३ गते ओली ले नै अब एमाले सकियो । मर्यो भनेर घोषणा गरेका हुन् । मरिसकेपछि फेरि उस्तै जन्म्यो भन्ने भ्रम रहन सक्छ तर दुरुस्त हुन सक्दैन । उहाँहरु त्यही जन्मियो भन्दै हिंड्दै हुनुहुन्छ । ओली आफै परमादेशवाला सरकार भन्दै कुर्लिन्छन् तर उनको पार्टी पनि परमादेशबाट नै बनेको हो भन्ने चाहिँ कहिल्यै भन्दैनन् । एमाले भन्ने पार्टी नै अदालतले नै बनाइदिएको हो । त्यसैले एमाले इतिहास हो वर्तमान मा होइन । फेरि अहिले एमालेभित्र ठूलो समस्या छ । त्यहाँ केही सैद्धान्तिक बहसको कुनै स्पेस बाँकी छैन । अध्यक्षको प्रतिवेदनमाथि टिप्पणी गर्न नपाइने निर्णय केही दिन अघि हामीले देख्यौं । लोकतान्त्रीकरणको बहस त्यहाँ हुन्छ भन्ने कल्पना पनि गर्न नसकिने भएको छ । त्यहाँ सबैका अनुहार मलिन छन् । त्यही अवस्थाबाट विद्रोह गरेर हामीले समाजवादी जन्माएका हौं ।

आइतबार, २७ चैत, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर