काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरूपमा विस्तार गरी सहज ढंगले सञ्चालन गर्न चीनसँग आग्रह गरेका छन् ।
शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरूपमा विस्तार गरी सहज ढंगले सञ्चालन गर्न जोड दिए ।
तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतिक भएको बताउँदै सभामुख सापकोटाले २ देशबीचको सम्बन्धलाई जनताको तहसम्म पुर्याउनुपर्नेमा जोड दिए ।
कोभिड–१९ को महामारीपछि बन्द भएर हाल सञ्चालन रहे पनि तातोपानी लगायत अन्य नाकाबाट आवतजावत सामान्य बन्न सकेको छैन ।
बैठकमा उनले २ देशबीचको सम्बन्धलाई आजको स्तरमा ल्याउन संघीय संसद्, प्रतिनिधि सभाका सदस्य समेतको महत्त्वपूर्ण भूमिका रहेको र आगामी दिनमा सम्बन्ध अझ प्रगाढ तथा परिस्कृत बनाउन संघीय संसद्ले कुनै कसर बाँकी नराख्ने जानकारी दिए ।
सभामुख सापकोटाले आर्थिक विकास, सांस्कृतिक जागरण र प्रविधिको विकासबाट चिनमा समग्र राष्ट्रिय शक्तिको निर्माणमा भएको प्रगतिको उच्च प्रशंसा गर्दै यो नेपालका लागिसमेत विकास र समृद्धिको मार्गदर्शक हुनसक्ने अपेक्षा गरे ।