विराटनगर । नेपाली कांग्रेस मोरङले आवश्यकताका आधारमा मात्रै चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
शुक्रवार बसेको जिल्ला कमिटीको बैठकले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको जिल्ला सभापति डिकबहादुर लिम्बुले बताए ।
पालिकाहरूको अवस्था बुझ्नका लागि शनिवार पालिका सभापतिलाई बोलाइएको उनले बताए । पालिकाका सभापतिहरुले गरेको रिपोटिङका आधारमा सत्तागठबन्धन भित्र रहेका अन्य दलहरुसंग छलफल गर्ने उनले बताए ।
विराटनगरका १७ स्थानीय तहमध्ये गत चुनावमा कांग्रेसले विराटनगर महानगरपालिका सहितमा एक्लै चुनाव लड्दा ९ वटा स्थानीय तह जितेको थियो । उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका जितेको थियो ।
बूढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो । गच्छदारको दल कांग्रेसमा गाभिएपछि अहिले मोरङमा १० स्थानीय तहमा कांग्रेसको नेतृत्व छ ।
गठबन्धन दलकै नेताहरू कांग्रेससँग भने रुष्ट बनेका छन् । मोरङ कांग्रेसले गठबन्धनमा रहेका दलहरूलाई हेप्न खोजेका भन्दै सत्तारुढ ३ दलले छुट्टै गठबन्धन गर्ने तयारी गरेका छन् ।
शुक्रवार सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस बाहेकको गठबन्धन बनाउने ३ दलका नेताहरू छलफलमा जुटेका छन् ।
केन्द्रमा ५ दलको गठबन्धन भए पनि कांग्रेस नेता डा। शेखर कोइरालाको गृहजिल्लामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) मोरङ छुट्टै गठबन्धन बनाउने तयारीमा जुटेको छ ।
शुक्रवारकै बैठकले जिल्ला सभापतिकै नेतृत्वमा २५१ जनाको जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ भने २५ सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरेको छ ।