काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धराशायी नहुने बताएका छन ।
शुक्रवार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताएका हुन् ।
‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरूलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ,’ उनले भने, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन ।’
नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनले थप प्रष्ट पारे ।
क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उनले बताए । तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैध रुपमा पैसा बाहिरिन थालेको उनले बताए ।
वैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरूलाई पनि विभिन्न सहुलियत दिनुपर्ने विषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनले जानकारी दिए ।