विराटगनर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य जीवन आचार्यले सोमबार लकडाउनका कारण विपन्न तथा श्रमिक परिवारका लागि भन्दै बुढिगंगा गाउँपालिकालाई एक सय बोरा चामल उपलव्ध गराउनुभएको छ । आचार्यको पहलमा संकलन भएको खाद्यान्न स्थानीय पार्टी कमिटीको तर्फबाट गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीलाई हस्तान्तरण गरिएको छ ।
बुढिगंगा सुनसरी मोरङ औद्योगिक करिडोर अन्तरगत धेरै उद्योग रहेको क्षेत्र हो । उद्योग बन्द हुँदा त्यहाँ काम गर्ने अधिकांश मजदुरहरुले यतिबेला रोजगारी गुमाएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने विपन्न श्रमिकहरुले खाना खानै नसक्ने अवस्था उत्पन्न भए उपलव्ध गराउने गरी आचार्यले २५ किलो तौलको एक सय बोरा (२५ क्वीन्टल) चामल गाउँपालिकालाई उपलव्ध गराउनुभएको हो ।
आचार्यले सुन्दर हरैंचा लगायतका स्थानीय तहहरुमा पनि राहत सामग्री उपलव्ध गराउने तयारी रहेको जानकारी दिनुभएको छ । आचार्य २०७४ सालमा सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्य पदका लागि मोरङ क्षेत्र नम्बर ६(१) बाट उमेद्वार बन्नुभएको थियो ।