सरकारले स्वेत आतंक सिर्जना गरेको कर्मचारीकै आरोप

विराटनगर । निजामती कर्मचारीको क्षेत्रमा सरकारले स्वेत आतंक सिर्जना गरेको भन्दै नेपाल निजामती संगठन मोरङले विरोध जनाएको छ । सरकारको मुख्यमन्त्रीको सचिवालयबाट पछिल्ला दिनहरुमा भइरहेको क्रियाकलाप र गतिविधि आपत्तिजनक भएको भन्दै संगठनले कर्मचारी क्षेत्रमा त्रासको वातावरण नबनाउन आग्रह समेत गरेको छ ।

सरकारले पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा गर्ने, वैचारिक आस्थाका आधारमा विभेदपूर्ण व्यवहार गर्ने, कानुन विपरित वेमौसमी सरुवा गर्ने, सरुवा गर्दा आर्थिक चलखेल गर्ने गरेको भन्दै संगठनले पछिल्लो समय विकसित यस प्रकारको क्रियाकलाप रोक्न माग गरेको हो । संगठनका अध्यक्ष ओमराज सुवेदी सहितको टोलीले सोमबार प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै निजामती कर्मचारी क्षेत्रमा बढ्दो स्वेत आतंक अन्त्य गर्न र कानुन विपरितका गतिविधि रोक्न माग गरेका हुन् । उनीहरुले विद्यमान क्रियाकलाप र गतिविधिमा सुधार नआए प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

स्थायी सरकारको रुपमा रहेको निजामती क्षेत्र यस प्रकारको हस्तक्षेप, त्रास र सरुवाका नाममा गरिने आर्थिक चलखेलले कमजोर बन्दै गएकोमा संगठनले चिन्ता व्यक्त गरेको छ । ज्ञापन पत्रमार्फत मुख्यमन्त्रीको सचिवालयको हवाला दिएर कर्मचारीहरुलाई हप्काउने, धम्क्याउने, सरुवाका लागि आर्थिक चलखेलयुक्त दवाव, प्रभाव दिने कार्यप्रति संगठनले भत्र्सना गरेको छ ।

ऐन, कानुन, नियम, कार्यविधि आदिको पक्षमा आफ्नो संगठन प्रतिवद्ध रहेको भन्दै राजनीतिक आडमा भइरहेको कानुन विपरितका क्रियाकलाप रोकनु पर्ने माग उनीहरुले गरेका छन् । निजामती क्षेत्रमा प्रदेश सरकारको तहबाट भइरहेको गलत क्रियाकलाप बन्द गर्नुपर्ने भन्दै त्यस्तो व्यवहार नरोकिए निजामती संगठनको मर्यादा र पेशागत हितको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने चेतावनी दिइएको छ । संगठनले पछिल्ला क्रियाकलापले प्रदेश सरकार दङ्दङी गनाएपनि सम्बन्धित निकायको ध्यान नगएकोप्रति आलोचना गरेको छ ।
संगठनले सेवा, समूह तथा उपसमूह नमिलाई नियम विपरित गरेका सरुवा बदर गर्नसमेत माग गरेको छ ।

मङ्गलबार, २२ चैत, २०७८, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर