मोरङका नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : शान्तिपूर्ण निर्वाचनमा केन्द्रीत

विराटनगर । मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका एसपी शान्तिराज कोइरालाले कानुन कार्यन्वयनमा प्रतिवद्ध भएर लागि पर्ने भएका छन् । उनले कानुनले तोकेको जिम्मेवारी पूरा गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार बिहान आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया एवम् परिचयात्मक कार्यक्रममा कोइरालाले नियम र कानुनभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् । ‘मसँग त्यस्तो कुनै कार्ययोजना छैन । यो गर्छु र त्यो गर्छु भनेर म कुनै कुरा गर्दिन,’ उनले भने, ‘नियम र कानुनअनुसार चल्ने हो । ऐनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने हो ।’

एसपी कोइरालाले प्रहरी अहिले नजिकिँदो स्थानीय तह निर्वाचनतर्फ केन्द्रित भएको जानकारी दिए । ‘शान्तिपूर्ण, भयरहित र निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गर्नेतर्फ प्रहरी केन्द्रित छ,’ उनी भन्छन्, ‘निर्वाचनमा कुनै पनि घटना हुन नदिन चनाखो भएर त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइने छ ।’

निर्वाचन सुरक्षाका दृष्टिकोणले मोरङ संवेदनशील जिल्लाभित्र पर्छ । भारतसँगको खुला सीमा, अवैध गतिविधी, लागुऔषध एवम् साना हतियारको ओसारपसार, सीमा अपराध तथा बढ्दो जनसङ्ख्या लगायत यहाँको शान्ति सुरक्षाका लागि चुनौती मानिन्छ ।

शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन तथा अपराध नियन्त्रण र अनुसन्धानका लागि ऐन, कानुन एवम् प्रहरी नियमावलीले दिएको अधिकार प्रयोग गर्न भने कुनै समस्या नहुने एसपी कोइरालाले बताए । ‘प्रहरी भनेको कानुन कार्यान्वयन गर्ने निकाय हो । कानुनभन्दा बाहिर गएर कसैले पनि काम गर्न सक्दैन,’ उनले भने, ‘सबै पक्षसँग समन्वय गरेर शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको नियमित काम मेरो कार्यकालमा हुन्छ । त्यसबाहेक कुनै नयाँ कार्यायोजना मैले बनाएको छैन ।’

उनले अपराध अनुसन्धान एवम् नियन्त्रणका क्रममा कसैले राखेको जिज्ञासा र बुझ्न चाहेको विषयलाई दबाबका रूपमा आफूले नलिने प्रष्ट पारेका छन् । मोरङमा प्रहरीलाई राजनैतिक दबाब धेरै आउँछ नि भनेर पत्रकारले सोधेको प्रश्नमा एसपी कोइरालाले भने, ‘कुनै प्रशङ्गलाई लिएर कसैले राखेको जिज्ञासालाई दबाब भन्न मिल्दैन ।’

उनले सीमा क्षेत्रबाट हुने चोरी तस्करी र विभिन्न खालका अपराध नियन्त्रणमा भने कुनै कसर बाँकी नराखिने बताए । तस्करीको लाइन चलाउनेलाई कारबाहीको दायरामा ल्याइने जानकारी उनले दिएका छन् ।

समाजमा कानुन उल्लङ्घनका घटना हुन नदिन नागरिक अनुशासन पनि आवश्यक देखिएको कोइरालाको भनाइ छ । ‘अपराध, कानुनको उल्लङ्घन र अवैध गतिविधी रोक्नु सबैको दायित्व हो,’ उनले भने, ‘त्यसका लागि नागरिक अनुशासन पनि महत्वपूर्ण हुन्छ ।’

प्रहरी प्रधान कार्यालयले गत चैत १४ गते एसपी कोइरालालाई मोरङ प्रहरी प्रमुखका रूपमा काज सरुवा गरेको हो । गत शनिबार मोरङ आएर उनले आफ्नो कार्यभार सम्हालेका छन् । यसअघि एसपी जनार्दन जिसी मोरङ प्रहरी प्रमुख थिए । उनी प्रहरी प्रधान कार्यालयमा सरुवा भएर गएका छन् ।

चैत्र २१, २०७८, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर