विराटनगर । मोरङमा स्थापित नेपाल कृषि केयर र आरजु राईस मिलले दुई जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३० रुपैयाँमा खरिद गर्ने घोषणा गरेको छ ।
कम्पनीका तर्फबाट आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मिलले नेपाल सरकारबाट स्वीकृत रामधान वा तेज गोल्ड जातको धानको मूल्य प्रतिकिलो ३० रुपैयाँमा खरिद गर्ने जनाएको हो । उक्त कम्पनीले झण्डै आधा अर्ब लगानीमा मोरङको डाँगीहाटमा मिल स्थापना गरेको छ ।
कम्पनीले चिस्यान मात्रा १८ प्रतिशतको भएको धानको मूल्य ३० रुपैयाँ प्रतिकेजि हुने र धान खरिद गरेवापतको रकम किसानहरुको बैंकमा २ दिनभित्रमा भुक्तानी गर्ने पनि जनाएको छ ।
नेपाल कृषि केयरका डाइरेक्टर डाक्टर रामचन्द्र खनालका अनुसार यस वर्ष वर्षे (अघनी) धान राईसमिलले ११ हजार मेट्रिक टन खरिद गर्ने योजना बनाएको बताए । त्यसका लागि कम्पनीसँग पहिला सम्झौता गर्ने किसान, किसान समूह वा सहकारीहरुलाई पहिलो प्राथमिकता दिने उनको भनाइ छ ।
कम्पनीले धान खरिद बाहेक नेपाल कृषि केयरले किसान वा कृषक समूहलाई खेती गर्न वा कृषि यन्त्र उपकरण खरिद गर्न व्यवसायिक बैंकबाट ऋण चाहिएको खण्डमा पनि सहुलियतपूर्ण कृषि ऋण प्राप्त गर्न सहजीकरण गर्ने पनि जनाएको छ ।
सरकारले मोटा धानको मूल्य प्रतिकिलो २८ र मसिना धानको मूल्य प्रतिकिलो २९ रुपैयाँ तोकेको छ । सरकारले दिने मूल्य भन्दा बढी मूल्य दिएर आफूहरुले किसानबाट धान खरिद गर्ने सो कम्पनीले जनाएको छ ।
कम्पनीका व्यवस्थापक पियुस कायस्थले कम्पनीले खरिद गर्ने रामधान वा तेज गोल्ड जातको धानको लङ ग्रेड चामलको मूल्य बजारमा १ सय २० देखि १ सय ३० रुपैयाँ प्रतिकिलोसम्म रहेको बताए । कम्पनीले उत्पादन गरेको चामल भने ९० देखि १ सय रुपैयाँसम्ममा उपलब्ध गराउने आफूहरुको अनुमान रहेको उनको भनाइ छ ।
नेपालमा हाल सो जातको धान धेरै उत्पादन हुँदैन । सो धान प्रतिकठ्ठा ५ मनसम्म उत्पादन हुने प्रदेश १ कृषि मन्त्रालयका उपसचिव डाक्टर राजेन्द्र उप्रेतीले बताए । कम्पनीको माग अनुसार ११ हजार मेट्रिक टन धान उत्पादनका लागि झण्डै ३ हजार विगाहामा खेती गर्नुपर्ने उप्रेतीको भनाइ छ । प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले प्रदेशले उक्त धानको बिउ लगाउने किसानका लागि अनुदान उपलब्ध गराउने बताए । ‘यो धान तुलनात्मक रुपमा अन्य जातका धान भन्दा सस्तो लगानीमा त्यति नै मात्रामा उत्पादन हुन्छ,’ तिम्सिनाको भनाइ छ, ‘अब नेपालमा मसिना र वास्नादार धान उत्पादनमा ध्यान नदिए हाम्रो परनिर्भरता अझै बढ्ने देखिन्छ, त्यसकारण यस्ता कार्यक्रमलाई हामी प्रबद्र्धन गर्छौं ।’
कम्पनीले चैते धानमा करिब १ सय देखि १ सय ५० विघामा किसानसँग करार मार्फत काम गरिरहेको जनाएको छ । अबको वर्षे धान करिब ११ हजार मेट्रिक टन चाहिने भएकोले किसानसँग शर्तनामामा किन्ने चाहना राखेको जनाएको छ । यसरी धानको मूल्य धान लगाउनु भन्दा पहिले नै घोषणा गर्ने नेपालको पहिलो मिल आफूहरुको भएको सो कम्पनीले दाबी पनि गरेको छ ।