विराटनगर । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न मोरङको लेटाङ नगरपालिकाका काँग्रेस नेताहरु आपसी प्रतिष्पर्धामा उत्रिएका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नगर प्रमुख र चार वडाध्यक्ष जितेको नेपाली काँग्रेस यस पटक पनि आफ्नै पक्षमा परिणाम आउने विश्वासका साथ स्थानीय नेताहरु आन्तरिक प्रतिष्पर्धामा उत्रिएका हुन् ।
आगामी निर्वाचनमा लेटाङको मेयर पदका लागि नेपाली काँग्रेसभित्र मुख्य पाँच जनाबीच प्रतिष्पर्धा चलिरहेको छ । उनीहरुले आफू निकटका नेता तथा शक्ति केन्द्र मार्फत टिकटको लबिईङ गरिरहेका छन् । नगरपालिकाका वर्तमान प्रमुख शंकर राई, मोरङ क्षेत्र नम्बर १ (ख) का क्षेत्रीय सभापति राजकुमार लामा, काँग्रेस मोरङका पूर्व सचिव ज्ञानेन्द्र ढकाल, देवराज चाम्लिङ र कुबेर पौडेलले आगामी निर्वाचनमा सशक्त रुपमा मेयर पदका लागि दावी गरिरहेका छन् । लेटाङ काँग्रेसका पाँच प्रमुख आकांक्षी मध्ये संस्थापन पक्षका चार जना छन् भने संस्थापन इतर पक्षको प्रतिनिधित्व वर्तमान मेयर शंकर राईले गरिरहेका छन् ।
अघिल्लो पटकको निर्वाचनमा तीब्र प्रतिष्पर्धाका बीचमा नेकपा एमालेलाई पाखा लगाउँदै प्रमुख पदमा निर्वाचित भएका शंकर राईले अहिले कम्युनिष्टहरु विभाजित बनेको सहज अवस्थामा पार्टीले एक पटक पुनः आफूलाई अगाडि सार्नुपर्ने बताउने गरेका छन् । राईलाई नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र जिल्ला सभापति डिकबहादुर लिम्बूको समर्थन रहेको काँग्रेसका स्थानीय नेताहरु बताउँछन् ।
मेयर पदमा उम्मेदवारी दावी गर्नेको संख्या धेरै भएपनि अन्तिममा सहमति बन्ने काँग्रेसका पूर्व मोरङ जिल्ला सचिव ज्ञानेन्द्र ढकालले बताए । ‘हामी सहमतिका साथ एउटा निर्णयमा पुग्छौं, अहिले उम्मेदवार सिफारिसको प्रकृया सुरु नभइसकेको बेलामा धेरै प्रतिष्पर्धि देखिनु स्वभाविक हो,’ ढकालले भने ‘तर, पार्टीले जित्ने उम्मेदवार दिन्छ ।’ उनले संस्थापन वा संस्थापन इतर जे भनेपनि अन्तिममा नेपाली काँग्रेसले संस्थागत निर्णय मार्फत उम्मेदवार दिने र त्यसलाई सबैले स्वीकार गर्ने दावी पनि गरे । लेटाङमा नेपाली काँग्रेसका ७८३ क्रियाशील सदस्य छन् ।
स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवारी प्रदेश कमिटीबाट निर्णय हुने भएकोले लेटाङको सवालमा हुने निर्णय प्रकृयामा डा. शेखर कोइराला र जिल्ला सभापति डिकबहादुर लिम्बूको भन्दा प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद रमेशजङ्ग रायमाझी, खड्ग फागो लगायतका नेताहरुको भूमिका महत्वपूर्ण रहने बताइएको छ ।
२०७४ सालको निर्वाचनमा लेटाङको नौं वटा वडामध्ये काँग्रेसले मेयरसहित चार वडा अध्यक्ष जितेको थियो भने नेकपा एमालेले उपमेयरसहित पाँच वडा अध्यक्ष जितेको थियो । अहिले नेकपा एमाले विभाजित भएको छ भने सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित उपेन्द्र घिमिरे माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा छन् । उनी प्रदेश सरकारको मन्त्रीसमेत भएकोले लेटाङमा नेकपा एमालेलाई विभाजनको पूर्ण असर पुग्ने काँग्रेसको विश्लेषण छ ।
त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघको दुई कार्यकाल अध्यक्ष निर्वाचित भएका अग्नी पौडेल, युवा नेता शान्ति गुरुङ जस्ता समुदायसँग राम्रो सम्बन्ध बनाएका एमाले नेताहरु नेकपा एसमा सक्रिय भएकोले एमाले रक्षात्मक अवस्थामा पुगेको छ भने काँग्रेस एक्लै चुनाव जित्ने दाबी गरिरहेको छ ।
यद्यपि आगामी निर्वाचनमा लेटाङमा राजनीतिक दलहरुबीच गठबन्धन गरेर जान भने काँग्रेसको दुवै पक्ष सहमत नै देखिएको छ । ‘हामी लेटाङमा गठबन्धन बनाएरै चुनावमा जान्छौं किनभने अघिल्लो निर्वाचनमा हामीले उपप्रमुख र पाँच वडामा जित्न सकेनौं,’ ढकालले भने ‘अब वडासम्मै गठबन्धन गरेर ९ वटै वडामा गठबनधनले जित्नु पर्छ ।’ २०७४ को निर्वाचनमा लेटाङमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । लेटाङमा माओवादी केन्द्रको ७ सय बढी पार्टी सदस्य छन् ।