विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको लागि मोरङ प्रहरीले शनिबार विराटनगरको सहिद रङ्गशालामा लिखित परीक्षा सञ्चालन गरेको छ । मोरङमा माग गरिएको ३ हजार ७२७ म्यादी प्रहरीको लागि १० हजार १३४ जनाले आवेदन दिएका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार आवेदन दिनेमा ७ हजार ८०१ पुरुष र २ हजार ३३३ महिला थिए । तर, परीक्षामा आवेदन दिनेहरु सबै सहभागी भएनन् । शारिरिक तन्दुरुस्ती परीक्षणमा कतिपय अयोग्य भएका थिए भने कतिपय परीक्षामा सहभागी भएनन ।
लिखित परीक्षामा ६ हजार ३७१ जना सहभागी भएका छन् । म्यादी प्रहरीका लागि लोकेसेवा आयोगमार्फत प्रश्न मगाएर परीक्षा लिइएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सय पूर्णाङ्कको लिखित परीक्षा शनिबार लिइएको छ । २० अंकको मौखिक परीक्षा पनि लिएपछि म्यादी प्रहरी छनौट हुने उनले बताए ।
आवेदकहरुमध्येबाट म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा ६ सदस्यीय म्यादी छनौट तथा नियुक्ति समिति गठन गरिएको छ । समितिले चैत्र १५ देखि २२ गतेसम्म म्यादी प्रहरी छनौट गरि अन्तिम नामावली प्रकाशन गर्नेछ ।
म्यादी प्रहरीका लागि छनौटमा परेकाहरुलाई चैत्र २८ गतदेखि १० दिने प्रशिक्षण प्रदान गरिनेछ । छनौटमा परेकाहरुबाहेक २० प्रतिशतलाई वैकल्पिकमा राख्ने तयारी छ ।
म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह आधारभूत मासिक तलब २२ हजार ६८० रुपैयाँ, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ठ ७ हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामान खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ र यातायात खर्च १ हजार रुपैयाँ सरकारले उपलब्ध गराउनेछ ।
स्थानीय चुनावका लागि म्यादी ४० दिनका लागि भर्ना हुनेछन् । सो अबधिमा तलब, भत्ता र राशनसहित उनीहरुले ४३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।