विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनहरुलाई सबैले उत्सवको रुपमा लिएर सहभागी हुनुपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार साँझ तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले आगामी तीनै तहको निर्वाचन सबै सहभागी भएको, निष्पक्ष र धाँधलिरहित ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
लोकतन्त्रको जगको रुपमा रहेको आवधिक निर्वाचनलाई सबैले उत्सवको रुपमा लिएर सफल बनाउनुपर्ने उनको भनाइ थियो ।जनताको संघर्षबाट राजनीतिक उपलब्धिहरु प्राप्त भएपनि जनताको जनीवनस्तरमा परिवर्तन नआइसकेको भन्दै उनले राज्यले साधन स्रोत प्रयोग गरेर आगामी १० वर्षभित्र देशलाई दक्षिण एशियाको धनी बनाउने गरी वर्तमान पुस्ता अगाडि बढ्नु पर्ने बताए ।
मन्त्री कार्कीले सञ्चारग्राम भावना मात्र नभई खोज र अनुसन्धानको महत्वपूर्ण केन्द्रसमेत रहेको बताए । ‘सञ्चारग्राम भावना मात्र होइन अध्ययन, अनुसन्धान अन्तरक्रिया र गतिविधिका लागि महत्वपूर्ण छ,’ मन्त्री कार्कीले भने ‘खोज अनुसन्धान र मिडिया अध्ययनका लागि भइरहेको ठाउँको अभाव यो सञ्चारग्रामले पूरा गरेको छ ।’ प्रदेश सरकार र स्थानीय सरकारले समेत सञ्चारग्राको सदुपयोग गर्न मन्त्री कार्कीले आग्रह गरे ।
लामो पहल र प्रयत्नपछि प्रदेश १ मा निर्माण भएको सञ्चारग्राम उद्देश्य अनुरुप सञ्चालन हुने विश्वास व्यक्त गरे । विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएकै कारण सञ्चारग्राम बन्ने वातावगरण बनेको भन्दै उनले आगामी दिनमा पनि महानगरको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।
रेडियो नेपालको रेडियो प्रसार सेवा विकास समिति अन्तरगत रहेको तारिणिप्रसाद कोइराला सञ्चारग्रामबाट शुक्रबारबाटै विराटनगर महानगरपालिकाले महानगर एफ.एम. सञ्चालन आरम्भ गरेको छ । मन्त्री कार्कीले महानगर एफ.एम.को समेत समुद्घाटन गरे ।
विराटनगर महानगरपालिकाले उपलब्ध गराएको ६ कठ्ठा १८ धुर जग्गामा रेडियो नेपालले २० करोड रुपैयाँको लगानीमा आधुनिक भवन निर्माण गरी सञ्चार सम्बद्ध विभिन्न काम गर्न तथा व्यवस्थित सूचना केन्द्रको रुपमा प्रयोग गर्न योग्य भवन निर्माण गरेको हो ।
भवन उदख्घाटन समारोहमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सञ्चारग्रामको बन्नु मात्र ठूलो कुरा नभएको बरु उद्देश्य अनुरुप अगाडि बढ्न महत्वपूर्ण हुने बताए । उनले व्यवस्थित सूचना प्रवाह गर्न, सञ्चारकर्मीहरुको क्षमता विकास गर्न पनि सञ्चारग्राम महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा बोल्दै पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले परिवर्तनको आन्दोलनमा बहुप्रतिभाशाली व्यक्तित्व तारिणीप्रसाद कोइरालाको स्मृतिमा सञ्चारग्राम निर्माण भएकोमा खुसी व्यक्त गरे र रेडियो नेपालमा पहिलो आवाज दिने तारिणीप्रसादको शताव्दी जन्म जयन्तीको अवसरमा बैशाखमा हुलाक टिकट प्रकाशन गर्न सुझाव समेत दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राई, नेपाली काग्रेंसका केन्द्रीय सदस्य डिला संग्रौला, अमृत अर्याल लगायतले शुभकामना व्यक्त गरेका थिए ।