मोरङमा गठबन्धन चार दलको बैठक

विराटनगर । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मोरङका गठबन्धनका चार दल छलफलमा जुटेका छन् ।

चारदलबीच आज विराटनगरस्थित होटल स्टर्न स्टारमा सुरुवाती छलफल भएको हो । मोरङमा रहेका गठबन्धन दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच छलफल भएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले गठबन्धन दलहरुबीच मिलेर अगाडि बढ्ने निर्णय गरेसँगै मोरङमा पनि छलफल सुरु भएको हो । कांग्रेसबाहेकका अन्य गठबन्धन दलले पनि आगामि निर्वाचनमा मिलेर जाने निर्णय गरिसकेका छन् ।

आजको बैठकमा कांग्रेसका तर्फबाट मोरङ सभापति डिकबहादुर लिम्बू, माओवादीबाट मोरङ संयोजक विजय विश्वास, सचिव प्रकाश पौडेल, नेकपा एकीकृत समाजवादीका तर्फबाट रेग्मीसहित मोरङका अध्यक्ष चन्द्रवीर राई तथा जनता समाजवादीका तर्फबाट मोरङका अध्यक्ष राजकुमार यादवलगायतको उपस्थिति थियो ।

झण्डै २ घण्टा चलेको बैठकमा बोल्ने दलका नेताहरुले गठबन्धन गर्ने विषयमा आ–आफ्ना पार्टीभित्र पनि छलफल गर्ने र सहमतिका साथ आउनुपर्ने बताएका थिए । बैठक अनौपचारिक भएको र सामान्य छलफल भएको सहभागी एक नेताले बताएका छन् ।

चैत्र १८, २०७८, रातीको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर