विमल लामिछाने
नेपाली प्रगतिवादी साहित्यको इतिहास धेरै पुरानो नभएपनि इतिहास गौरवशाली गाथा रच्न सफल भएकोमा भने फरक मत कमै मात्र होला । कला, संस्कृति, भाषा र साहित्यको क्षेत्रमा मात्र हैन, सामाजिक रुपान्तरणको अभियानमा पनि यसले जनतालाई जागरुक बनाएको छ र नयाँ पुस्तालाई उर्जा भरिरहेको छ । कठोर कालरात्रीमा पनि प्रगतिवादी कलमहरुले समाजमा हुने शोषण, दमन र अन्यायका बिरुद्धमा चेतना प्रवाहित गर्दै जनतालाई आन्दोलनमा लामबद्ध बनाएको इतिहास हाम्रो समाजले नबुझेको विषय होइन ।
साहित्य पनि समयसँग परिवर्तन हुँदै जाँदो रहेछ । पछिल्लो समय वर्गीय चेतनामूलक साहित्य दुर्लभ हुन थालेको छ । प्रगतिवादी कलमले संक्रमणको पीडा भोगिरहेको घडीमा यसको सुनौलो इतिहासलाई मर्न नदिने अभियानमा निरन्तर कलम चलाउँदै आएका श्रष्टाहरुमध्येका हुन्, कवि शशिकिरण ।
कवि शशिकिरणको कविता संग्रह ‘बधाई छ’ ले परिवर्तनका संवाहकलाई उर्जा भर्न र प्रगतिवादलाई निरन्तरता दिने प्रयास गरेको पाइन्छ । बिभिन्न शिर्षकहरु गरि जम्मा ५२ वटा कविता समिटिएको १०६ पेजको कृति अत्यन्तै समसामयिक भएको सहज महशुस गर्न सकिन्छ । एउटा सहकर्मी, र कलमी योद्धाका नाताले कवि शशिकिरणको कृतिका बारेमा समिक्षात्मक टिप्पणी गर्नु सान्दर्भिक ठानेर पुस्तकभित्र जे देखेँ त्यसलाई प्रस्तुत गर्ने प्रयास गरेको छु । मेरो अध्ययन र समिक्षा नै श्रष्टाका लागि पर्याप्त चाहिँ नहुँन सक्छ ।
कविता संग्रह ‘बधाई छ’ विद्रोह र असन्तुष्टिका स्वरहरुको प्रतिनिधित्व भएको कृतिको रुपमा सरस र सरल अनि अत्यन्तै भावुक छ । कृतिभित्र देशको दर्द बोलिएको छ । राजनीतिमा मौलाएको विकृति र बिसंगतिको डंगुरहरुले मन अमिलो पार्नेहरु र वितिष्णा बढ्दै गएकाहरुको पीडा समेटिएको छ । परिवर्तनका पक्षधरहरुको पनि मन कुडिँदा परेको चोट लुकेको छ । जनतालाई सिँढी बनाएर बाचा बिर्सने धोकेबाज नेताहरुको सक्कली चित्रण र खवरदारी पनि छ । शक्तिको खातिर मित्रताको भावनात्मक सम्बन्धलाई नै छुरा हान्न पछि नपर्ने स्वार्थीहरुप्रतिको आक्रोशको संकेत पनि कविताकै रुपमा प्रस्तुत भएको सहज पाउन सकिन्छ ।
अँध्यारोसँग लड !
निस्तब्धतालाई लत्कार !
घाउ लागे केहि हुन्न ।
न्यानो मल्हम बोकेर,
विहानै घाम आउने छ ।
लड ! लड ! अनि लडिराख ! !!
पुस्तकको पहिलो क्रमसंख्यामा रहेको कविता हो, ‘घाम त फेरि एक्लै आएछ’ यसमा कविले अन्यायका विरुद्ध लड्न उत्प्रेरित गर्ने र लडाकुहरुलाई नै सिँढी बनाएर माथि पुग्नेहरुलाई चोटिलो ब्याङ्ग्य प्रस्तुत गरेका छन् । सुन्दर विहानीको सपना बोकेर अँध्यारामा पनि लड्न सिकाएको छ । कविताले अन्त्यतिर लडेर घाइते, अपाङ्गता भएपनि परिवर्तनकै निम्ति लड्नेहरुका मुहारमा घाम नलागेको भन्दै घाम परिवर्तनका साथ आउनुपर्ने ठाउँमा एक्लै आएको भन्दै ब्याङ्ग्य गरेका छन् ।
तिमीलाई बधाई छ ।
मलाई बधाई छ ।
तिमी केन्द्रमा पुग्यो ।
म झन् महाकेन्द्रमा पुगेँ ।
बाचाहरु फेसन हुन्,
पुस्तैपिच्छै फेरि रहने
मान्छेपिच्छे देखाको सपना
बिहानीसँगै बिलाई जान्छ
हजारांै लाखौंलाई सुताएर
आफू सुटुक्क उठनुपर्छ । ।
कविले यहाँ निष्ठाहिन राजनीतिक यात्राले इमान्दारहरुको आत्मसम्मान गुमेको कुरालाई उजागर गरेको पाइन्छ । सामाजिक रुपान्तरणको अभियानमा कैयौंले कलकलाउँदा यौवनका उल्लासहरुलाई बलिदान गरे । तर, अपशोच ती परिवर्तनका बाहकहरुको दिनचर्यामा कुनै परिवर्तन हुन सकेको छैन । उनीहरुको दिनचर्या उस्तै छ, तरपनि उनीहरुमा धोकाको बदलाभाव छैन । अभावग्रस्त जीवनले प्रतिरोधात्मक क्षमतामा ह्रास आएको छ । तर पनि िवश्वास अटल छ । आस्था गुमेको छैन । आक्रोशलाई मनभित्रै गुम्स्याएर सहेर बसेका छन् । कविले समाजको यथार्थलाई कविताको माध्यममा भएपनि पर्याप्त उजागर गर्न भ्याएका छन् ।
म आन्दोलनमा भागें त के भो ?
अहिले राजनीतिको प्रमुख अथिति
तिम्रो जीउमा गोली लाग्यो त के भो ?
म समवेदनाको प्रमुख अथिति ।
म एकै रातमा केन्द्रमा पुग्नसक्छु
सपनाको ब्यापारमा रमाउन सक्ने,
प्रमुख अथिति बन्न सक्ने ।
पुस्तकभित्रका हरेकजसो कविताहरु विचार र विद्रोहका बिम्बकै रुपमा प्रस्तुत गर्न सफलभ एका छन् । मेरो वर्तमान शिर्षकको कविता होस् अथवा अल्मलिएका सपनाहरु, यक्ष प्रश्न, घाम त फेरि एक्लै आएछ, गाउँ फर्कौ साइला काम सकियोलगायतका अधिकांश कविताहरुले मन छुन्छन् । कविले वर्तमान राजनीतिभित्र मौलाएको बिकृति र बिसंगतिप्रति पनि गहिरो प्रहार गरेका छन् । विकृतिले आर्थिक, सामाजिक र साँकृतिक रुपमान्तरणसहितको समृद्धिको सपनालाई अबरुद्ध गरेको कुरालाई साहित्यमार्फत चेतना प्रवाह गरेका छन् ।
प्रगतिवादी साहित्यमा समाजको यथार्थता नै उजागर भएको हुन्छ । यो पुस्तकका सबैजसो कविताहरु जनजीविका र भोगाइको प्रतिनिधि हुन् । कविताहरुमा यथार्थताको प्रतिनिधित्व भएको छ, कविले आस्था मर्दैछ, मर्न दिनु हुँदैन भन्ने भाव सजगतापूर्वक पस्किन खोजेको देखिन्छ । पुस्तकको अन्तिमको दोस्रो कविता ‘आस्था र म’ शिर्षकमा रहेको कविताले भौतिक शरिर मरेर गएपनि आस्था जिवितै हुन्छ । आस्थाका लागि लड्नुपर्छ भन्ने विम्ब रहेको कविता पस्किएको छ ।
कमाण्डरले भने,
जति सक्छौं लड !
तिमी मरे केही हुन्न,
आस्था बाँच्छ,
आस्था महान् हो । ।
कविताका सुरुदेखि अन्त्यसम्मका शिर्षकहरुमा विगतको आफ्नै भोगाई, यथार्थता र पीडा पनि समेटन सकेर कवि शशिकिरणले पुस्तकलाई सार्थक बनाएको पाइन्छ । प्रगतिवादी साहित्यमा, कवितामा वा प्रगतिवादी लेख र कथामा किन नहोस् लोकको सत्यता, श्रमजीवीहरुको आवाज र परिवर्तनका लागि होमिएका युवापुस्ताको विचलित जीवन बोल्नुपर्छ भन्ने आधारभूत मान्यतालाई गर्लम्मै अँगालो हाल्न सकेर कविले आफूलाई सफल बनाएका छन् ।
राजनीतिक परिवर्तनको निम्ति आफूलाई मृत्यु र मुक्तिको धारमा राखेर लामो समय संघर्ष गर्दै आएका सामाजिक अभियन्ता शशिकिरणको राजनीतिक र सामाजिक साथै कलमी यात्रा सफलताको शुभकामना ।
bmllamichhane@gmail.com