काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै ३ घण्टा उभ्याएर कारबाही गरिने भएको छ ।
प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्नसक्ने देखिएपछि लकडाउन उल्लंघनकर्तालाई त्यही ठाउँमा ३ घण्टा होल्ड गर्ने उपाय प्रहरीले निकालेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राख्न थाले बताउनुभयो ।
अत्यावश्यक कामबिना सडकमा निस्किएकालाई प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ। सोमबार बिहानै काठमाडौं उपत्यकाबाट ७४० जना पक्राउ परेका छन् । काठमाडौंमा प्रहरीले लकडाउन उल्लंन गर्नेलाई पक्राउ गर्दा पनि डिभाइसको प्रयोग गर्ने गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन नागरिक आफै सचेत हुनुपर्ने भए पनि कतिपयमा भने अटेर गर्ने मानसिकता देखिएको प्रहरीले जनाएको छ ।