लीलाबल्लभ घिमिरे
हरेक युद्धले नयाँ सम्भावना बोकेको हुन्छ, भनिन्छ परिवर्तनका लागि हुने युद्धमा मान्छेहरु मृत्युसँग डराएका हुँदैनन् । विश्व इतिहास हेर्ने हो भने यसका अनेकौं दृष्टान्त पाइन्छ । नेपालमै पनि ठूला परिवर्तन भए । ती यसै सानोतिनो प्रयासमा भएका थिएनन् । परिवर्तनगामी हजारौंंले हाँसीहाँसी छातीमा गोली थापे । त्यही अदम्य बलिदानको फलस्वरुप समाज परिर्तनको श्रृंखला बनेको हो ।
तर, अहिले एउटा ‘अदृश्य मृत्यु’ सँगको युद्ध विश्वव्यापी बनेको छ । संसारको कुनै कुना यसबाट ढुक्क छैन । सन्त्रास छ । चिन्ता छ । यहाँसम्म की मानव जातिकै अस्तित्वलाई लिएर पनि अनेक प्रश्न र जिज्ञासा उठिरहेका छन् । वैश्यिक संत्रासले हरेकलाई छोएको छ । त्यसमध्ये म कहाँ अलग छु र ! ५ दिनदेखि मूल गेटमा ताला लागेको घरमा ५ वर्षे छोरी र श्रीमतीसित युद्धको तयारीमा छु ।
सानो छँदा स्कूलमा गुरुहरुले कल्पना गर्न लगाउनु हुन्थ्यो । सिर्जनात्मक बनाउन होला भन्ने अहिले अनुमान गर्छु । त्यसबेला मैले सुनाएको एउटा कल्पना थियो– यो विश्वमा जति पनि मान्छेहरु छन्, ती सबैको एउटा मान्छे हुनु अनि जति बोट विरुवा छन्, सबैको एउटै रुख, अनि जति फलाम छ सबैको एउटा बञ्चरो हुनु नि ! त्यो मान्छेले त्यो बन्चरोले त्यो रुखलाई काटेर ढल्दा खेरीको आवाज कत्रोे आउँथ्यो होला भन्ने मेरो मनमा जिज्ञासा हुन्थ्यो ।
उमेरअनुसार यस्ता कल्पना सबैले गरिएकै हुन्छ । तर, आज जुन परिस्थितिबाट संसार गुज्रिरहेको छ, यस्तोको कल्पना मैले न त गरेको थिएँ, न त कसैले सुनाएकै थियो । जितिहाले पनि एक मुठी सास मात्र पाइने यो युद्धमा बन्दक भइरहेका बेलामा मनमा अनेक कुरा आउँदा रहेछन् । एक मनले भन्छ– यति नै रहेछ संसार, अब मरिन्छ । अर्को मनले भन्छ– होइन, घरबाहिर नगए बा“चिन्छ । हिजोसम्म विश्व नै जितौंला झैं गर्दै दौडने म बन्दी छु । बन्दी मात्र होइन मरिएला कि, बाँच्न पाइएला त भन्ने दोसाँधमा छ, मन । आफैंलाई यस्तो प्रश्न गर्नुपर्ने अवस्था आउनु निश्चिय पनि कष्टप्रद हुन्छ । अहिले मेरा कलम मरेका छन् । कोठामा कैद छन् । यदाकदा सार्वजनिक सञ्जालमा आउने मेरा भावना त्रासका उपज मात्र हुन्जस्तो लाग्छ । फोन उठायो कोरोना, सामाजिक सञ्जालमा उही, बाहिर हे¥यो कोरोना, भित्र उस्तै चर्चा । यतिसारो व्याप्त भइसक्दा पनि आफू यसबाट मर्दिन भन्ने निष्कर्ष मेरो छ । यसै होइन, कतिपय मृत्यु नजिक पुगेका घटनाबाट म विजयी बनेको अनुभवका आधारमा यसो भनेको हुँ।
धनकुटाको दुर्गम गाउँ हो, मेरो मूलघर । बाआमाको चौथो सन्तान । त्यस बेलासम्म परिवार नियोजन लागू भइरहेको थियो । सरकार मेरो गाउँसम्म पुगेको हुन्थ्यो भने म जन्मने नै थिइन् कि ! घरको आर्थिक अवस्था सामान्य थियो । मेलापात जानु, दाउरा घाँसका लागि जंगल जानु आमाको दैनिकी थियो । म गर्भमै हँुदा पनि यो काम अटुट थियो । टाढा खोलाबाट गाग्रोमा पानी भरेर ल्याउनु अर्को नियमित काम थियो, आमाको ।
यसो सोच्छु, मर्ने नै भए गर्भै रहेका बेला त्यति गह्रौं पानीका गाग्री, घा“सका भारी, मलका डोेका, दाउराका भारी बोक्दा नै तुहिन्थे होला । तर, त्यसो नभएकाले म आज छोरीको बाबु भइसकेको अवस्थासम्म आइपुगेको छु । जंगलमा जन्मिएको रे म । त्यहीं सास जान सक्थ्यो होला । तर, अवस्थाको भन्दा आमाको मायाको शक्ति बलियो थियो ।
सानामा निकै ख्याउटे । सुकेनास लागेको जस्तो धेरैले बाँच्दैन होला भन्थे रे । उबेला खोप पनि पाएको होइन । सुत्केरीबाट नउकासिंदै घाँसपात, दाउरा, ढिकी, जाँतो गर्नुपर्ने आमाको दुध कति नै आँथ्यो होला । तर, अमृत भएकैले त्यसैका भरमा बाँचिएछ । घरमा तीनजना दाजुहरु मलाई आमाले लुकाएर खानलाई राखिदिएको पनि खोसेर खाइदिन्थे । खानै नपाएर पनि मर्नुपर्ने हो । तर, फेरि पनि मरिएन ।
भीरपाखा आसपास घर थियो । उफ्री कुदी कति हो कति । कतै लडेरै पनि प्राण जान सक्थ्यो होला । तर, गएन । तीन वर्षको हुँदा हजुरबासँग गाई चराउन जंगल गएको अरे । त्यसबेला वन्यजन्तुले चौपाया खाइदिन्थे । सँगै रहेको मैलाई पनि त खानसक्थे । तर, यसो पनि हुन पाएन । हैजा फैलियो गाउँमा, मरिएन । कहिले अनिकालै लाग्थ्यो, ज्यान तलमाथि भएन । खहरेमा बगेर पनि ज्यान जोखियो कतिपटक ।
अलि उमेर भएपछि रुख चडेर घाँस झारियो । भीरपहरा कुदियो । जोखिम धेरै थियो । रुख र भीरबाट लडेर धेरैले देहत्याग गरेको आफैंले देखेको पनि हु“ । तर, अह ! मेरा हकमा यसो भएन । औलो लाग्थ्यो । ज्वरो आउनु निमोनिया हुनु सामान्य थियो । सर्वाङ्ग लुतो ढाकिंन्थ्यो । उँधोउँभो त कति भयो–भयो । त्यसबेलाको चलन अनुसार धामीझाँक्री लगाएर निको पारेको रे । ज्यान बचेकै हो ।
घरभन्दा तल तेह्रथुम र धनकुटाको सिमाना भएर बग्ने तेलिया खोला छ । किनारमा हाम्रो खेत थियो । धेरैपटक उर्लेर आएको खोलाले बगायो र तर ज्यान जोगियो । हलका हल गोरु बगेको मैले देखेकै हो । के हुन सक्दैन र, धेरै साथी विदेश गए, फर्कंदा बाकसमा शरीर आयो । त्यतै गएको भए उनीहरुको जस्तै हालत हुन्थ्यो ? यो पनि कल्पनाकै कुरा हो ।
‘सशस्त्र द्वन्द्व’ । यो पनि हजारौंको ज्यान जाने कारण बनेकै हो । पारि गाउँ कुरुलेतेनुपाका दांैतरी हेमराज भण्डारीसँग दाई सालो भएकाले निकटता थियो । उनी र छिमेकी पदमलाल गिरी दाईले जनमोर्चामै लाग्न धेरै प्रयास गरेका थिए । एकपटक त जाने मन बनाइसकेको थिएँ । तर, घरपरिवार कांग्रेस भएकाले रोकिएँ । सम्भावना यो पनि हो नि, त्यतातिर लागेको भए सेनाको गोली खाएर मरिन्थ्यो कि !
मेरो ठूलो दाई तत्कालीन शाही नेपाली सेनामा जागिरे । माओवादीले सेनाका परिवारलाई छानीछानी मारिरहेका थिए । त्यस बेला पनि निसानामा पर्न सकिन्थ्यो होला ।
क्याम्पस पढ्न थालेसँगै पत्रकारितातिर लागियो । धेरै शत्रु बनाइयो, मित्र कम । समाचारले कतिपय रिसले चुर भए । माओवादीविरुद्ध समाचार लेखेको भन्दै सफाएको सूचीमा तिम्रो नाम पनि छ भनेर पत्रकार मित्र सिद्धराज राईले सुनाएको अहिल्यैजस्तो लाग्छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको उत्तरतर्फ भिमसेन थानभन्दा तल मेरै आड लिएर माओवादीले मसँगै गफ गरिरहेका प्रहरीमाथि गोली प्रहार गरे । त्यसबेला गोली मलाई पनि त लाग्नसक्थ्यो ।
चार दशकबीच यस्ता आरोह अवरोह झेल्दै आएपछि आज एउटा अनौंठो मृत्युसँग डराएर घरमै एकान्तबासको अवस्था छ । कहिलेसम्म भने निधो छैन । एक मनले सोच्छु यतिका मृत्यु जितेर आएको म कुनै हालतमा मर्दिन । यसो सोच्छु, त्यसबेला मृत्युसँग नडराई जनयुद्धमा होमिएका कामरेडहरु पनि योबेला त्राहीमाम छन् । मृत्युलाई सत्तासँग जोडेर हिडिरहेका विप्लवहरु पनि जंगलमै ‘लक डाउन’ होलान् । उनीहरुलाई सोध्न मन छ– विप्लव कमरेड कोरोनाको डर छ की सुरक्षाकर्मीको ?
दैनिकी फेरिएको छ । के समाचार लेख्ने भनेर सोच्ने दिमाग अचेल छोरीको आजको दिन के सिकाएर बिताउने भन्ने चिन्तामा छ । केही दिनअघिसम्म नयाँ खबर के छ भनेर सोध्ने छिमेकीलाई आफू आज के बार पो हो ? भनेर सोध्ने अवस्थामा छु ।
गेटको ताला खोल्ने हिम्मत छैन । छोरीले खाना खाइरहेका बेला बाबा फ्याँक्नु हुँदैन है कोरोना लागेको छ भन्दा जिउभरि काँडा उम्रन्छन् । श्रीमतीजीको पनि अफिस बन्द छ । घरको छतमा तरकारी बारी छ । घरनजिकै अर्को एउटा बारी छ । श्रीमती धेरै समय बारीमा काम गर्न वाध्य बनाउँछिन् । राति उठेर पढिरहेकी हुन्छिन् । एक मनले सोच्छु भोलि के हुन्छ के हुन्छ, के मरिहत्ते गरेको होला । फेरि गम्छु, मान्छेको जात कहाँ त्यति सजिलै मर्छ र ।
हिजो अरुका लागि काम गरियो । अरु अरुकै लागि कुदियो । तर, उर्बर बेलाका समय खर्चेर अरुलाई नै धनी बनाइएछ । अब भने आफै केही गर्नुपर्छ भन्ने अठोट जागेको छ । आफैं मालिक आफैं कामदार बन्ने बेला हो भनेर योजना बनाइरहेको छु । त्यसैले पनि मरिहाल्छु भन्ने भय मनबाट निकै टाढा भागेजस्तो अनुभूति भएको छ । कोसौं टाढा….!
बाल्यकालको याद दिलायो यो लेखले धन्यवाद मित्र ।
हिजो अरुका लागि काम गरियो । अरु अरुकै लागि कुदियो । तर, उर्बर बेलाका समय खर्चेर अरुलाई नै धनी बनाइएछ । अब भने आफै केही गर्नुपर्छ भन्ने अठोट जागेको छ । आफैं मालिक आफैं कामदार बन्ने बेला हो भनेर योजना बनाइरहेको छु । राम्रो लाग्यो