युक्रेनबाट ३०२ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी । रुस–युक्रेन द्वन्द्व प्रभावित क्षेत्रबाट ३०२ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । युक्रेन समेत हेर्ने जिम्मेवारी पाएका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतका देशमा नेपालीलाई सारिएको जानकारी दिएका हुन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलवार साँझ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समितिका अनुसार मंगलवारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् । यसअघि समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा। बद्री केसीले रुसमा रहेका नेपालीहरुले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसँग सम्पर्क रहेको जानकारी दिएका थिए ।

उनले एनआरएनए पोल्याण्डको सक्रियतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जानकारी दिए । रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किभमा रहेका सबै नेपालीहरुले युक्रेन छोडेको बताए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विधार्थीहरु चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए ।

फाल्गुन १८, २०७८, बिहानको ११:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर