काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसमा प्रतिबन्धहरुको कारण खेल क्षेत्रमा पनि समस्या देखिन थालेको छ । पश्चिमा देशहरुले अन्य आर्थिक प्रतिबन्धसँगै खेल क्षेत्रमा पनि प्रतिबन्धहरु बढाउँदै लगेपछि रुसी खेल क्षेत्र समस्यामा पर्न थालेको हो ।
अन्तर्राष्ट्रिय कम्पनीहरुले रुसी खेलका संघसंस्था तथा विभिन्न क्लबहरुसँगको साझेदारी तोडेका छन् भने खेल सम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाले पनि प्रतिबन्ध लगाउन थालेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन् । यो प्रतिबन्धका कारण रुसको आउँदो विश्वकप फुटबल यात्रा अनिश्चित बनेको छ ।
फिफाको निलम्बन परेकाले रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ । पोल्याण्डले यूक्रेनी नागरिकसँग ऐक्यबद्धता जनाउँदै यस अघि नै आफूले रूससँग नखेल्ने घोषणा गरिसकेको छ । त्यस्तै रुसको महिला टोलीले समरमा हुने युरोकप–२०२२ को प्रतियोगिता गुमाउने छ । यस्तै रुसी क्लब स्पार्टक मस्कोले युरोपा लिग खेल्न पाउने छैन ।
यूएईएफले रसियाको इनर्जी जोइन्ट जाजप्रोमसँगको स्पोन्सर सम्झौता समेत रद्द गरेको छ । खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताहरु निलम्बनमा पर्नु, खेल क्षेत्रमा भइरहेको साझेदारी टुट्नु, प्रतियोगिताहरुमा सामेल हुन नपाउनु र देशभित्रै नियमित प्रशिक्षणमा समस्या लगायतका कारण रुसी खेल क्षेत्रमा समस्या बढीरहेको हो ।
युद्ध लम्बिदै गएमा नजिकिएका महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गुमाउनुको साथै रुसी खेल क्षेत्रमा यसको असर धेरै लामो समय पर्नेछ । फिफा र यूईएफले निकालेको संयुक्त विज्ञप्तिमा फुटबल एकता र भाइचराको खेल रहेको भन्दै आफूहरु युक्रेनी नागरिकको साथमा एकताबद्ध भएको र चाँडै अवस्था सुधार भइ शान्तिको महसुस पाउने आशा रहेको बताएका छन् । एजेन्सी