काठमाडौं । रुपन्देहीको बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ।
पाल्पा स्थायी घर भएका ३३ वर्षीय बाबुराम थापाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । थापा चैत ६ गते दुबईबाट फर्किएका थिए।
दुबईबाट आउँदा बाटैमा ज्वरो आएको र उनले बसेर औषधि खाएकोमा निको नभएपछि चैत १३ गते अस्पताल भर्ना भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो।
थापालाई आइतबार आईसियुमा राखेर उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको हो । उनको मृत्युको कारण स्पष्ट भइसकेको छैन । अस्पतालले उनको स्वाब निकालेर कारोरा परीक्षणको लागि काठमाडौं पठाएको भएपनि रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ ।
थापाको शव अस्पतालमै राखिएको छ । उनको परीक्षण रिपोर्ट सोमबार मात्र आउने डा. थापाले जानकारी दिनुभयो ।
यसअघि चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा उपचारको लागि भर्ना भएका एक युवाको पनि मृत्यु भएको थियो । उनको मृत्यु कोरोनाको कारण नभई अन्य रोगको कारण भएको पुष्टि भएको थियो ।